यमपञ्चक : आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

यमपञ्चक : आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

काठमाडौं।  कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा आराधना गरी मीठा परिकार खान दिएर मनाइँदै छ।

घरका आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत निर्माण गरी त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने सनातन परम्परा रहेको छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाउनुभएको पौराणिक प्रसंगको सम्झनामा गोवद्र्धन पूजा गर्ने प्रचलन चलेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए।

कार्तिक शुक्ल प्रतिपदा तिथिमा सूर्योदय भएको दिन गोवद्र्धन पूजा गर्नुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले स्पष्ट पारेका छन्।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिनसम्म मत्र्यलोकको शासन गर्ने अधिकार प्रदान गर्नुभएको धार्मिक जनविश्वासअनुसार आजकै दिन बली राजाको पनि पूजा आराधना गरिन्छ। तिहारमा देउसी खेल्ने क्रममा खेलिने ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्ने भट्याउने परम्परा यसै ऐतिहासिक विश्वाससँग जोडिएको छ।

वर्षभरि खेतबारी जोतेर मानव समुदायका लागि अन्न उत्पादनमा सहयोग पुर्‍याउने गोरुलाई समेत आज विशेष पूजा गरी मीठा परिकार खान दिने चलन छ। हिन्दू संस्कृतिमा गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेको रूपमा समेत स्मरण गरिन्छ।

यसैगरी, वर्षभरि गोरु जोतेर कृषि कर्म गर्ने हलि तथा अन्य कृषिकर्ममा सक्रिय किसानलाई समेत आज सम्मानसहित पूजा गरी मीठा परिकार खुवाइन्छ। यसैकारण आजको दिनलाई हलि तिहारका रूपमा पनि मनाउने गरिन्छ।