उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते

उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दुर्घटनामा चालकसहित ११ जना सवार रहेकामा एक बालिका भने सकुशल रहेकी छन्।

बुधबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरीले जनाएको छ। माइक्रोबस काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएका थिए।

दुर्घटनामा चालक केसीसहित झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं घाइते भएका छन्। त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का र इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम पनि घाइते भएका छन्।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक घाइते भएका छन्। रेणुका प्रसाईंकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने सकुशल रहेकी छन्।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।