काठमाडौं। मुलुकभर जारी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न प्रदेशमा पर्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार धेरैजसो स्थानमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ भने केही जोखिमपूर्ण सडकखण्डहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
ललितपुरको कान्तिलोकपथअन्तर्गत भट्टेडाँडा र बिखेन्धारा, पाँचथरको तमोर–कोरिडोर (नावाखोला बाढी) तथा मध्य पहाडी लोकमार्गका विभिन्न खण्डहरू पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। यस्तै हलेसी तुवाचुङ र याङवरक क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ।
यसैगरी अरनिको राजमार्गको धुलिखेल (पकुचा) र पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा क्षेत्रमा खसेको पहिरो हटाई सडक एकतर्फी सुचारु गरिएको छ। पृथ्वी राजमार्गकै धारापानी खण्डमा भने हाल साना सवारी र मोटरसाइकललाई मात्र चल्न दिइएको छ। बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा अर्को सूचना जारी नभएसम्मका लागि आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ।
बाढी–पहिरोको सम्भावित क्षति रोकथामका लागि सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुर (कटारी–घुर्मी) क्षेत्रका सिद्धिचरण, मेची तथा मध्य पहाडी लोकमार्गलगायतका भित्री सडकहरूमा साँझ/रातिको समयमा सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ। ती स्थानहरूमा एम्बुलेन्स, दमकल र खाद्यान्न बोकेका अत्यावश्यक सवारी साधनलाई भने प्रहरीसँग समन्वय गरेर मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाइएको छ।