तीन गुणा महंगो भाडा तिरेर गाउँ फर्किए हुम्लेली

तीन गुणा महंगो भाडा तिरेर गाउँ फर्किए हुम्लेली

हुम्ला । लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा अलपत्र परेका हुम्लाको नाम्खा गाउँपालिका– ६ का ७५ जना लिमेलीवासी महँगो भाडा तिरेर घर फर्केका छन् ।

उनीहरूले घर फर्किन जनही ४० हजार भाडा तिरेका हुन् । हुम्लाबाट नरजन तामाङले यो खबर नयाँ पत्रिकामा लेखेका हुन् ।

काठमाडौंबाट प्रतिव्यक्ति सिमकोट विमानस्थलसम्म हवाईजहाजमा १५ हजार र सिमकोट विमानस्थलबाट लिमीसम्म हेलिकोप्टरमा २५ हजार गरी प्रतिव्यक्ति ४० हजार भाडा तिरेर लिमी पुगेको कोन्जोक सितार तामाङले बताए ।  

विदेश भ्रमण गएजस्तै जहाज भाडा र हेलिकोप्टर भाडा तिरेर आफ्नै गाउँ पुग्न मुस्किल भएको नाम्खा गाउँपालिका– ६ की छिरिङपुटी तामाङले बताइन् । 

सदरमुकाम सिमकोटदेखि उत्तरी नाम्खा गाउँपालिका– ६ लिमी गाउँ पुग्न झन्डै चार दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।