भोटेकोशी बाढी अपडेट: मृत्यु हुनेको सङ्ख्या १,४५४ पुग्यो, ४ हजार ७ सय बढी अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट: मृत्यु हुनेको सङ्ख्या १,४५४ पुग्यो, ४ हजार ७ सय बढी अझै बेपत्ता

काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म मृत फेला पर्नेहरूको सङ्ख्या १ हजार ४५४ पुगेको छ।

प्रहरीको अद्यावधिक तथ्यांकअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २३२ र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा २२२ जना गरी कूल १ हजार ४५२ जनाको शव फेला परेको हो। यस्तै बाढीमा परी घाइते भएकामध्ये थप २ जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव सुरक्षित रूपमा माटोमुनि गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचान सुनिश्चित गर्न मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कूल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिसकिएको छ। यस्तै पहिचान हुन बाँकी रहेका १ हजार ४२१ वटा शवहरूको विस्तृत विवरण पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्। बाढीमा परी हालसम्म बेपत्ता रहेका ४ हजार ७१८ जनाको तीव्र रूपमा खोजी कार्य जारी राखिएको छ। यसैगरी विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा १ हजार २३४ जना विस्थापित तथा प्रभावितहरूलाई आश्रय दिएर राखिएको छ।

छुटाउनुभयो कि ?