काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा अवरुद्ध बनेका नेपाल टेलिकमका सेवा शीघ्र पुनःसञ्चालन गर्न कडा निर्देशन दिएका छन्।
मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) लगायत उच्च व्यवस्थापनसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी-पहिरोले पुर्याएको क्षति र पुनःस्थापनाको प्रगतिबारे जानकारी लिएका हुन्।
प्राकृतिक विपत्तिका बेला सञ्चार सेवा अवरुद्ध हुँदा आम नागरिकका साथै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी र सरकारी निकायलाई समेत समस्या पर्ने भएकाले सेवा सञ्चालनलाई उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
मन्त्री तिमिल्सिनाले विद्युत् आपूर्ति नभएका स्थानमा वैकल्पिक उपाय अपनाउन र भौगोलिक कठिनाइ भएका ठाउँमा जेनेरेटर, उपकरण तथा प्राविधिक जनशक्ति पुर्याउन आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गर्न निर्देशन दिए।
नेपाल टेलिकमका अनुसार असोज ८ देखि ११ गतेसम्मको बाढी-पहिरो र विद्युत् अवरोधका कारण देशभरका १ हजार १३२ वटा टेलिफोन साइट प्रभावित भएका थिए। हालसम्म १ हजार २ वटा साइट पुनःसञ्चालनमा आइसके पनि १३० वटा साइट अझै बन्द छन्।
हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङ र प्युठानमा १५-१५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा ९, अर्घाखाँचीमा ७, दाङमा ६, मुस्ताङमा ४ र पर्वतमा ३ वटा साइट अवरुद्ध छन्। त्यसैगरी कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रूपन्देही र स्याङ्जाका केही क्षेत्रमा पनि सेवा प्रभावित छ।
सडक अवरुद्ध हुँदा प्राविधिक टोली पुग्न कठिनाइ भए पनि टेलिकमले वैकल्पिक व्यवस्था मिलाएर बाँकी साइट शीघ्र सञ्चालन गर्ने काम भइरहेको जनाएको छ।