चाडपर्वमा दुर्घटना रोक्न ट्राफिक प्रहरीको विशेष अभियान: लामो दूरीका बसमा अनिवार्य दुई चालक

चाडपर्वमा दुर्घटना रोक्न ट्राफिक प्रहरीको विशेष अभियान: लामो दूरीका बसमा अनिवार्य दुई चालक

काठमाडाैं। काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चाडपर्व नजिकिएसँगै लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा विशेष कडाइ गर्ने भएको छ।

यात्रुको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यात्राको वातावरण बनाउन ट्राफिक प्रहरीले निगरानी बढाउन लागिएको जानकारी दिए। लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने विद्यमान नियमलाई प्रभावकारी रूपमा लागू गराउन जाँच तथा अनुगमनलाई तीव्र पारिने उनले बताए। विशेषगरी चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न यस्तो व्यवस्थामा कडाइ गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

उहाँका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक भए-नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्नेछ भने नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी चलाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकलाई पर्याप्त आराम नपुग्ने र लगातार सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको उहाँले जनाए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पनि चालक र यात्रुको सुरक्षाका लागि रात्रिकालीन सेवाका लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियमलाई थप कडाइका साथ लागू गर्न लागिएको जानकारी दिए।

दुई चालकको व्यवस्था कार्यान्वयन भएमा चालकहरूले पालैपालो सवारी चलाउन पाउने र लामो यात्रामा उनीहरूको थकान व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता सुवेदीले बताए।

यसका साथै लामो दूरीका सवारीसाधनका चालकले मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे-नगरेको विषयमा समेत ट्राफिक प्रहरीले कडा चेकजाँच गर्ने भएको छ। सवारी सञ्चालन गर्नुअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित जोखिम नियन्त्रण गर्ने उद्देश्यले यस्तो निगरानी बढाउन लागिएको प्रवक्ता सुवेदीले जनाए। चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, टिकटको माग उच्च हुने र लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने भएकाले यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गर्न लागिएको उनले बताए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित अभियानअन्तर्गत सवारीसाधनको भौतिक अवस्था, चालकको योग्यता तथा नियम पालनाको अवस्थामा समेत निगरानी गर्ने जानकारी दिए। यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले यो अभियान सञ्चालन गरिने उनले बताए। यसका लागि दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराइनेछ। मुख्य सडक, सवारी आवागमन बढी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने स्थानहरूमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने उनले जनाए।

चाडपर्वका बेला यात्रुको आवागमन सहज र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा हुन सक्ने ठगी नियन्त्रणमा पनि ध्यान दिनेछ। यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जानकारी दिए।

दुर्घटना न्यूनीकरणका लागि चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुका साथै यात्रुहरूले पनि सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ। लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको सुरक्षालाई ध्यान दिनु अत्यावश्यक रहेको प्रहरीले बताए। चाडपर्वका समयमा सडकमा सवारीको चाप बढ्ने र यात्रुहरूको आवागमन बाक्लिने भएकाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको हो। अभियानमार्फत सडकमा प्रहरीको उपस्थिति बढाएर यात्रुलाई सुरक्षित यात्राको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्य राखिएको कार्यालयले जनाए।

छुटाउनुभयो कि ?