गुडिरहेको बसमाथि खस्यो ढुंगा

गुडिरहेको बसमाथि खस्यो ढुंगा

काठमाडौँ । कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते भएका छन् । मंगलबार (असोज १३) बिहान करिब १ः३० बजे कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला भन्ने स्थानमा सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यो बस चितवनबाट बर्दियातर्फ जाँदै थियो । बसमा ३० जना सवार थिए । उनीहरूमध्ये चारजना घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ । बसमाथि ढुंगा खस्दा चार यात्रु सिटमा च्यापिएका थिए । ढुंगा खसेपछि चोरखोलाबाट चालकले बस दाङको भालुवाङ पुर्‍याएर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । अस्पतालमा उपचाररत घाइतेको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

“...दाङ राप्ती गा.पा.–१ भालुवाङमा पुगी चारजना व्यक्तिलाई सिटले च्यापिएको अवस्थाबाट सकुशल उद्धार गरी उपचारको लागि भालुवाङ अस्पताल भालुवाङ दाङमा लगिएको र अवस्था मध्यम रहेको,” सशस्त्र प्रहरीले भनेको छ ।

घाइते हुनेमा बर्दियाका ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, बर्दियाकै ३५ वर्षीय सुरेशलाल थारू, चितवनकी २० वर्षीया सलिना सुनार र कञ्चनपुरकी ४० वर्षीया भगवती कँडेल रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?