राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने, लिङ्देन सर्वोच्च नेता !

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने, लिङ्देन सर्वोच्च नेता !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका शाहीले एक–दुई दिनभित्र औपचारिक घोषणा गर्ने बताए। ‘म अध्यक्ष लड्ने तयारीमा छु, एक–दुई दिनमा घोषणा गर्छु। अब हामी युवाहरू आएनौँ भने पार्टी के बन्छ त?’ शाहीले भने।

गत निर्वाचनमा राप्रपाले जनताको धेरै साथ नपाएकोतर्फ लक्ष्य गर्दै उनले रूपान्तरण र पुस्तान्तरण आवश्यक रहेको बताए। 

‘सिद्धान्त, एजेन्डा र व्यवहार मिलाउँदै अब पार्टी अघि लैजानुपर्छ, युवाहरूले पार्टी हाँक्नुपर्छ,’ उनले भने, ‘जनताले भोट हाल्ने खालको पार्टी बनाउनुपर्छ।’

उनले आफू पार्टीभित्र कुनै गुटमा नरहेको पनि बताए। उनले नेता तथा कार्यकर्ताहरूलाई जनताको मन जित्ने गरी काम गर्न र गुट तथा उपगुटमा नरमाउन पनि आग्रह गरेका छन्।

शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने अब पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गर्ने बताएका छन्। ‘राजेन्द्र दाइलाई मेरो प्रस्ताव सर्वोच्च नेता बन्नुस् भन्ने हो। मान्नुभएन भने मसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुहुन्छ,’ उनले भने।

लिङ्देन पनि पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्।

यस्तै, नेता विक्रम पाण्डेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनलाई पूर्वअध्यक्ष कमल थापा र प्रकाशचन्द्र लोहनीको समर्थन रहेको पार्टीभित्रका केही नेताहरू बताउँछन्। उनीहरू सँगसँगै जिल्ला दौडाहामा पनि छन्।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। जुम्लाबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाही हाल पार्टीको प्रवक्ता तथा संसदीय दलका नेता छन्।