काठमाडौँ । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी २० औँ एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार हुने तेस्रो क्वार्टरफाइनल अघि नेपाली क्रिकेट टोलीका लागि एउटा दुखद र निराशाजनक खबर अगाडि आएको छ।
मंगलबार हुने नेपाल र श्रीलङ्काबीचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेलमा वर्षा बाधक बन्ने सम्भावना बढेको छ। मौसम पूर्वानुमान अनुसार निसिन शहरमा मंगलबार ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ। यदि वर्षाका कारण खेल रद्द वा विना नतिजा टुङ्गियो भने नेपाली टोली प्रतियोगिताबाट सिधै बाहिरिने पक्का भएको छ।
किन बाहिरिन्छ नेपाल ?
एसियाली खेलकुद क्रिकेट प्रतियोगिताको नियम अनुसार नकआउट चरणका खेलहरू वर्षा वा भिजेको आउटफिल्डका कारण रद्द भएमा, टससमेत हुन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-२० वरीयतामा माथि रहेको टोली स्वतः अघिल्लो चरणमा प्रवेश गर्नेछ।
श्रीलङ्का आईसीसी टी-२० वरीयतामा नवौं स्थानहरूमा रहेको छ भने नेपालको वरीयता श्रीलङ्काको तुलनामा तल १४ औं स्थानमा छ। त्यसैले खेल पूर्ण रूपमा रद्द भएमा कुनै नतिजा नआईकनै श्रीलङ्का सेमिफाइनलमा पुग्नेछ भने नेपालको यात्रा समाप्त हुनेछ। सेमिफाइनलमा पुग्नका लागि नेपालले श्रीलङ्कालाई मैदानमै कम्तीमा ५-५ ओभरको भए पनि खेल खेलेर हराउनै पर्ने बाध्यता छ।
यो नियम कति निर्मम छ भन्ने कुरा सोमबारका लागि तय भएको भारत र अफगानिस्तानबीचको दोस्रो क्वार्टरफाइनल खेलबाट स्पष्ट भइसकेको छ। निसिनको कोरोगी स्पोर्ट्स पार्कमा सोमबार हुने भनिएको भारत र अफगानिस्तानको खेल वर्षा र भिजेको आउटफिल्डका कारण टस नै हुन नपाई रद्द गरियो।
भारत आईसीसी टी-२० वरीयताको १ नम्बरमा रहेको र अफगानिस्तान १०औँ स्थानमा रहेका कारण टससमेत नभएको खेलमा उत्कृष्ट वरीयताका आधारमा भारत सेमिफाइनलमा पुग्यो भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो।
सोही दिनको पहिलो क्वार्टरफाइनलमा पनि वर्षाकै कारण हङकङलाई पछाडि पार्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको थियो।