चार दिनको अविरल वर्षा र बाढी-पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता; २ हजारभन्दा बढीको उद्धार

चार दिनको अविरल वर्षा र बाढी-पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता; २ हजारभन्दा बढीको उद्धार

काठमाडौं। बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण यही असोज ८ देखि ११ गतेसम्म देशभर भएको अविरल वर्षा, बाढी र पहिरोमा परी २७ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १२ गते जारी गरेको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा देशभर विपद्का कूल ५४२ वटा घटना घटेका छन्।

प्राधिकरणको तथ्यांकअनुसार पहिरोका ३०४ घटनामा परी २० जना, बाढीका ८७ घटनामा ४ जना र भारी वर्षाका १५१ घटनामा ३ जनाले ज्यान गुमाएका हुन्। विपद्का यी घटनाहरूमा ८ जना घाइते भएका छन् भने १ हजार ८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

भौतिक क्षतितर्फ २२७ वटा घर पूर्ण रूपमा तथा १४२ वटा घरमा आंशिक क्षति पुगेको छ। यसैगरी ३१ वटा पुल र १० वटा गोठमा क्षति पुग्नुका साथै ११४ वटा पशु चौपाया नष्ट भएका छन्। लगातारको चार दिने वर्षाका क्रममा देशभरका १८६ वटा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो। जसमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डेढगाउँमा सबैभन्दा बढी ५४४.२ मिलिमिटर, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको प्राधिकरणले जनाएको छ।

विपद्लगत्तै सरकारका सम्पूर्ण संयन्त्रहरू परिचालन गरी प्रभावित क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। दुर्गम तथा जोखिमयुक्त स्थानबाट खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कूल ४,६६० जना सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन्। असोज ११ गते म्याग्दीको पाउद्धारबाट जोखिममा परेका ७८ जना, जाजरकोटको कुदुस्थित भेरी नदीको टापुबाट ४ जना तथा रसुवा, दैलेख, हुम्ला र मुगुबाट घाइते तथा बिरामीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। यता हिमलुङ हिमालमा क्याम्प स्थापना गर्न गएका २२ जना नेपालीमध्ये ४ जनाको शव फेला परेको छ भने बाँकीको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

पूर्वसूचना र सतर्कतातर्फ प्राधिकरणको ‘सिचुएसन रुम’ निरन्तर ७६ घण्टा सक्रिय पारिएको थियो। बाढी र पहिरोको जोखिमबारे टेलिकममार्फत ९ लाख ८० हजारभन्दा बढी नागरिकलाई सतर्कता एसएमएस, ४७ घण्टासम्म रिङ ब्याक टोन तथा ५ हजारभन्दा बढी रेस्पोन्डरहरूलाई अलर्ट सन्देश पठाइएको प्रतिवेदनमा उल्लेख छ।

हाल मनाङ, म्याग्दी, बागलुङ, पर्वत, नवलपरासीलगायतका प्रभावित जिल्लाहरूमा स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायको समन्वयमा विस्थापितहरूलाई विद्यालय, होल्डिङ सेन्टर तथा टेन्टमा अस्थायी आवास र खाद्यान्नको व्यवस्था मिलाइएको छ। नदीहरूको जलसतह क्रमैसँग घट्दै गएकाले स्थिति सामान्यतर्फ उन्मुख भइरहेको र अवरुद्ध सडक तथा पूर्वाधार खुलाउने काम तीव्र पारिएको छ।

छुटाउनुभयो कि ?