आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौं। विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यांक अनुसार दूषित खाद्यवस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब ६० करोड मानिसहरू विभिन्न रोगको सिकार हुने गरेका छन्। अझ गम्भीर कुरा त के छ भने, यस्ता खाद्यजन्य रोगहरूका कारण मात्रै विश्वमा वार्षिक रूपमा करिब चार लाख २० हजार जनाले अकालमै ज्यान गुमाउनु परिरहेको छ। सुरक्षित खाद्यवस्तुको महत्त्व र यसको आवश्यकताका बारेमा व्यापक जनचेतना फैलाउन यो दिवसलाई विश्वव्यापी रूपमा उपयोग गरिँदै आएको छ।

यस दिवसको पृष्ठभूमि हेर्दा, संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा एक विशेष प्रस्ताव पारित गर्दै हरेक वर्षको जुन ७ तारिखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप सन् २०१९ देखि संसारभर यो दिवस नियमित रूपमा मनाउन थालिएको हो, जसको प्रवर्द्धन तथा मुख्य समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्।

मानव जीवनको अस्तित्व, राम्रो स्वास्थ्य र समग्र कल्याणका लागि पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा सहज पहुँच हुनु अपरिहार्य मानिन्छ। तर, दूषित खाना वा पानीको माध्यमबाट मानव शरीरमा प्रवेश गर्ने हानिकारक ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थहरूका कारण अनेकौँ सरुवा र कडा रोगहरू फैलिने गर्छन्, जसका जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षा व्यवस्थापन अझ बढी चुनौतीपूर्ण बनेको छ।

खाद्यजन्य रोगको सबैभन्दा ठुलो मार र पीडा अबोध बालबालिकाहरूले भोग्नुपरेको डब्ल्युएचओको प्रतिवेदनले देखाउँछ। कुल खाद्यजन्य रोगको भारमध्ये करिब ४० प्रतिशत हिस्सा पाँच वर्षमुनिका बालबालिकाहरूमा मात्रै देखिने गरेको छ, जसका कारण हरेक वर्ष संसारभरका करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गर्छ।

यस्ता रोगहरूले विशेषगरी महिला, बालबालिका, द्वन्द्वबाट प्रभावित समुदाय, आप्रवासी तथा समाजका अन्य आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई असमान र बढी मात्रामा प्रभावित पार्ने गरेको पाइएको छ। विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा भनेको खेतबारीको उत्पादनदेखि भान्साको उपभोगसम्मको एउटा सिंगाे र लामो खाद्य शृङ्खलासँग जोडिएको संवेदनशील विषय हो।

यसकारण खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोग गर्ने हरेक चरणमा तोकिएका सुरक्षा मापदण्ड र सरसफाइलाई पूर्ण रूपमा पालना गर्न सकिएमा खाद्यजन्य रोगहरूको यो ठुलो जोखिमलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई केवल बजारको अनुगमनसँग मात्रै सीमित नराखेर प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीको सुनिश्चितता, असल कृषि अभ्यास (ग्याप), वैज्ञानिक खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र उपभोक्ताहरूको आफ्नै सचेतनासँग अन्तरसम्बन्धित गरेर हेरिनुपर्नेमा जोड दिइएको छ।

सरकार, खाद्य उत्पादक, बजारका व्यवसायी, वैज्ञानिक, नागरिक समाज र स्वयं उपभोक्ताको साझा एवं इमानदार प्रयासबाट मात्रै सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको सामूहिक ठम्याइ छ। ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने मूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको गहिरो अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य क्षेत्रको निर्माणका लागि राज्यका सबै संयन्त्र र नागरिक तहलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

छुटाउनुभयो कि ?