रियादमा ब्यालिस्टिक मिसाइल प्रहार  गरेको हुथीको दाबी

रियादमा ब्यालिस्टिक मिसाइल प्रहार  गरेको हुथीको दाबी

काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेको पावर प्लान्टमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन्। 

उता साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर नष्ट गरिएको बताएका छन्। यद्यपि उनीहरूले अन्य कुनै आक्रमण वा हताहतको पुष्टि गरेनन्।
यसअघि शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन ट्यांकीबाट कालो धुवाँ निस्किरहेको देखिएको थियो, जसले गर्दा उडान केही समयका लागि अवरुद्ध भएका थिए।

इरान समर्थित हुथी विद्रोहीले जुलाईमा साउदी अरबमा आक्रमण बढाएपछि राजधानीमा पहिलोपटक हवाई आक्रमणको चेतावनी साइरन सुनिएको थियो। यसैबिच टर्कीले आवश्यक परेमा साउदी अरबलाई सैन्य सहयोग गरिने बताएको छ।

बीबीसीका अनुसार अमेरिकाको विदेश विभागले मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई ‘सतर्क रहन र केही उडान रद्द वा अन्य यात्रा अवरोधका लागि तयार रहन’ आग्रह गरेको छ। विभागले विज्ञप्तिमा भनेको छ, ‘इरान समर्थित हुथी विद्रोहीले नागरिक विमानस्थलहरूलाई निसाना बनाउँदै साउदी अरबविरुद्ध सैन्य हमला सुरु गरेका छन्। यो सैन्य द्वन्द्व द्रुत गतिमा बढ्ने सम्भावना छ।’

विभागले अमेरिकी नागरिकलाई ‘यस क्षेत्रमा र यस क्षेत्र हुँदै यात्रा गर्ने कुरामा गम्भीरतापूर्वक पुनर्विचार गर्न’ भनेको छ। साउदी नेतृत्वको गठबन्धनका आधिकारिक प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘हवाई रक्षा प्रणालीले बिसा, तैफ, फरासन र यान्बु सहरमा नागरिकलाई निसाना बनाउने शत्रुको प्रयास विफल पारेको छ।’

हुथी सैन्य प्रवक्ता याह्या अल-सरियाले अनलाइन पोस्ट गरेको विज्ञप्तिमा भनेका छन्, ‘रियादमा संवेदनशील लक्ष्य र लाल सागरको तटमा अवस्थित सरकारी स्वामित्वको तेल तथा ग्यास कम्पनी साउदी अरामकोको यान्बु सुविधाहरूमा आक्रमण गर्न ठुलो संख्यामा ब्यालिस्टिक, क्रुज मिसाइल र ड्रोन प्रयोग गरिएको थियो।’ उनका अनुसार यो आक्रमण ‘यमनको राजधानी सानालाई निसाना बनाउने साउदी शत्रुको आपराधिक प्रयासको जवाफमा’ गरिएको हो।

अल-सरियाले यसअघि साउदी अरबले गत हप्ता यमनमा ३०० हवाई आक्रमण गरेको बताएको थियो। हुथी विद्रोही साउदी अरबद्वारा समर्थित यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारविरुद्ध गृहयुद्ध लडिरहेका छन्। हालका महिनाहरूमा हुथी विद्रोहीले साउदी अरबभित्र धेरै लक्ष्यमा आक्रमण गरेका छन्।

यस हप्ता उनीहरूले यमनमा उडिरहेको साउदी लडाकु विमानलाई खसालेको दाबी पनि गरेका छन्। एएफपी समाचार एजेन्सीले यमनको गृहयुद्धमा संलग्न दुवै पक्षका सैन्य स्रोतलाई उद्धृत गर्दै शनिबार हुथी विद्रोही र साउदी समर्थित सरकारी सेनाबिचको लडाइँमा ४८ जनाको मृत्यु भएको जनाएको छ।

समाचार एजेन्सीका अनुसार हुथी विद्रोहीले आफ्ना ३१ लडाकु मारिएको बताएका छन् भने सरकारी स्रोतले १७ सैनिक मारिएको जानकारी दिएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको एजेन्सी अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले हालैको लडाइँका कारण विस्थापितको संख्या १ लाख ४ हजार ७ सय ९६ नाघेको बताएको छ।


 

छुटाउनुभयो कि ?