जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा चर्चित टिकटकर सुधिरा मुखियासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-८ का २६ वर्षीय सुधिरा मुखिया बिन र औरही गाउँपालिका-२ का २० वर्षीय विजय मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार बर्थिङका लागि अस्पताल आएकी महिलाका आफन्तले ड्युटीमा रहेका चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताएका छन्। सुधिरा टिकटर हुन् । उनले जनकपुरधामको बजरंग चौकमा होटल समेत सञ्चालन गरिरहेकी छिन् ।
उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३(ग) बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त कसुरमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरी खोजतलास भइरहेको धनुषा प्रहरीले जनाएको छ।