काठमाडौ। आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म मुलुकका विभिन्न भूभागमा मूसलधारे वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको खतरा औँल्याएको छ। यसैगरी मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसममा आएको यो आकस्मिक परिवर्तनको मुख्य कारण उत्तर अन्डमान सागर र आसपास विकसित भएर हाल बङ्गालको खाडीको मध्य भूभागमा पुगेको न्यून चापीय प्रणाली हो। थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको यो प्रणालीसँगै पश्चिमी वायुको समेत प्रभाव जोडिने भएकाले असोज ७ गते बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तीव्र रूपमा बढ्ने देखिएको छ।
अत्यधिक वर्षाका कारण पहाडी तथा ढलानावृत क्षेत्रहरूमा भूक्षय, पहिरो र गेग्रान बहावको ठूलो जोखिम रहनेछ। तराई र शहरी भूभागहरूमा डुबान हुनसक्ने तथा साना-ठूला नदीनालामा जलसतह खतराको विन्दुभन्दा माथि पुग्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सजगता अपनाउन भनिएको छ। यस मौसमी प्रतिकूलताले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माणाधीन आयोजनाका साथै सडक तथा हवाई यातायात समेत पूर्ण रूपमा प्रभावित हुनसक्ने सम्भावना छ।
धानबाली भित्र्याउने समय परेकाले कृषि विज्ञहरूको प्रत्यक्ष सल्लाह र मौसमको अद्यावधिक सूचना लिएर मात्र कटानी वा थ्रेसिङका काम गर्न कृषकहरूलाई सुझाव दिइएको छ। त्यसैगरी उच्च हिमाली भागमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही, पदयात्री र ट्रेकिङ एजेन्सीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद् व्यवस्थापनसँग सम्बद्ध सबै निकायहरूलाई सम्भावित उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।