काठमाडौं। “अब युके अप्लाई गर्दा, खसी उपहार!” भन्दै मिराई ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिसेसले सार्वजनिक गरेको विज्ञापनले शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा र नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
विद्यार्थीको सुनौलो भविष्य र वैदेशिक अध्ययनजस्तो संवेदनशील विषयलाई सस्तो प्रचार र पशु उपहारको प्रलोभनसँग जोडेर व्यापार बनाइनु चरम गैरजिम्मेवारीको पराकाष्ठा हो।
शैक्षिक परामर्श क्षेत्रको विद्यमान आचारसंहिताले विद्यार्थीलाई भ्रममा पार्ने वा शिक्षासँग कुनै सम्बन्ध नरहेका अप्रासंगिक विषय जोडेर विज्ञापन गर्न सख्त मनाही गरेको छ।
त्यसैगरी, सरकारले वैदेशिक अध्ययन परामर्शसम्बन्धी नियमनलाई कडा बनाउँदै भ्रामक प्रचार गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेमा कन्सल्टेन्सीलाई नै कानुनी रूपमा जिम्मेवार बनाउने स्पष्ट व्यवस्था गरिसकेको छ।
यस्तो कानुनी प्रावधान रहँदारहँदै पनि खुला रूपमा ‘खसी उपहार’ जस्ता हतकन्डा अपनाएर विद्यार्थी तान्ने होडबाजी चल्नुले नियमनकारी निकायको मौनता र लाचारीमाथि समेत औँला उठेको छ।
शैक्षिक परामर्श भनेको सही मार्गदर्शन र पारदर्शी सूचना दिने सेवा हो, कुनै बजारिया व्यापार वा उपहार योजना होइन। उपहारको प्रलोभन देखाएर विद्यार्थी र अभिभावकलाई अल्मल्याउने यस्ता भ्रामक विज्ञापन नियमसङ्गत छन् वा छैनन् भनी सम्बन्धित सरकारी निकायले तत्काल छानबिन गरी कडा कानुनी कारबाही चलाउनु अपरिहार्य देखिएको सराेकारवाला बताउँछन्।