बालाजुमा बसमा आगलागी, दुई जना घाइते

बालाजुमा बसमा आगलागी, दुई जना घाइते

काठमाडौँ । काठमाडौँको बालाजुमा बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। आइतबार राति पौने १० बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक स्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङमा रहेको बसमा आगलागी भएको हो।

नारायणी यातायातको बा ३ ख ५०४३ नम्बरको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए। बसका चालक धादिङ ज्वालामुखी गाँउपालिका-३ का ३१ वर्षीय सुरेश अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका-२ का २३ वर्षीय राजेश परियार घाइते छन्। आगलागी हुँदा उनीहरू बसभित्रै थिए। 

चालक सुरेशको अनुहार, हात र खुट्टामा जलेको छ। सहचालक राजेशको दाहिने हात र पन्जामा जलेको छ। उनीहरूको उपचारका लागि जनमैत्री अस्पताल बालाजु हुँदै राति कीर्तिपुर बर्न अस्पतालमा रिफर भएको थियो।

बसमा आगो लागेपछि बालाजु औद्योगिक क्षेत्रको दमकल, टोखा नगरपालिकाको दमकल, स्थानिय र प्रहरीको सहयोग सवा १० बजे नियन्त्रणमा लिइएको थियो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

छुटाउनुभयो कि ?