काठमाडौं। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विपद्बाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा पुनः भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष सूचना जारी गर्दै असोज ७ गते बिहानसम्म ती जिल्लाका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने जानकारी दिएको हो।
चितवनमा भने मध्यम वर्षाको सम्भावना रहेको छ। गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। महाशाखाले रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रङले सङ्केत (एलो अलर्ट) गर्दै मौसम सम्बन्धी अद्यावधिक जानकारीमा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ।
गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण तहसनहस भएको सडक सञ्जाल पुनःस्थापना तथा विपद् व्यवस्थापनको काम निरन्तर चलिरहेकाले ती जिल्लाका बासिन्दाहरूलाई आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ। वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने र पहाडी भूभागमा पहिरोको जोखिम उच्च रहने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन भनिएको छ।
यसैबीच, बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि अझ बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सम्बन्धित सबै निकायलाई पूर्वतयारीका लागि सतर्क गराउने निर्णय गरेको छ।