‘सूचना पुग्यो, तर जोखिम बुझिएन’: भोटेकोशी र त्रिशूलीको भीषण बाढीले दिएको ठूलो शिक्षा

‘सूचना पुग्यो, तर जोखिम बुझिएन’: भोटेकोशी र त्रिशूलीको भीषण बाढीले दिएको ठूलो शिक्षा

त्रिशूली। बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए। त्रिशूली नदी किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठूलो बाढी आए पनि आफ्नो घरसम्म असर नपुग्नेमा उनी ढुक्क थिए। त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको उनले अन्दाजै गर्न सकेनन्।

घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्‍याएको छ। ठूलो बाढी तीव्र गतिमा अघि बढिरहेकाले सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस्। ढुङ्गे चोकभन्दा माथि जान अनुरोध गर्दछौँ।”

माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका छत्रले प्रहरी नजिकै पुगेर सोधे, “बाढी धेरै ठूलो हो?” हवल्दारले जवाफ दिए, “हो, धेरै ठूलो छ।”

तर ‘धेरै ठूलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक अवस्था यति भयावह होला भन्ने उनले सोचेनन्। “नातिनी विद्यालय जाने बेला भएको थियो। सबै जनासँगै निस्कनुपर्ला भन्ने लाग्यो,” प्याकुरेलले भने। परिवारका सदस्यसँगै घरबाट निस्कने तयारी गर्दागर्दै केही मिनेटमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो। बाढीले घरलाई चारैतिरबाट घेर्यो र ढुङ्गेबजारसहित आसपासका बस्ती भेलमा परिणत भए।

घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरे। “सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वासै लागेन। बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन,” उनले सम्झिए।

बाढी हेर्न जाँदा आफैँ भेलमा

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्‍याएको केही समयमै साथीमार्फत सूचना पाएका थिए। केही समयपछि वेत्रावती प्रहरी चौकीबाट माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्।”

चित्रकला र सामाजिक क्षेत्रमा सक्रिय डङ्गोलले वेत्रावती बजारका स्थानीयलाई पसल बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे। तर, अरूलाई सुरक्षित हुन आग्रह गर्ने उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे। नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्यो। “बाढी हेर्न जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो। केही सेकेन्डले ज्यान बच्यो,” डङ्गोलले भने।

बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ। तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई बढी पीडा दिएको छ। “आँखैअगाडि साथी र छिमेकीलाई बगाएर लग्यो। त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन,” भावुक हुँदै उनले भने, “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने अनुमानै भएन।”

खबर गर्न दौडिँदा परिवारै गुमाए

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ। २०७२ को भूकम्पबाट विस्थापित भएपछि उनी १० वर्षदेखि उत्तरगया–५ स्थित खाल्डेमा बस्दै आएका थिए।

भदौ १० गते टिमुरेबाट बाढी आएको खबर पाएपछि उनी खाल्डे र सातबिसेका २५० भन्दा बढी परिवारलाई खबर पुर्‍याउन दौडिए। सूचना फैलाउन थालेको १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो। उनी भेलबाट भागेर बचे, तर बुबाआमा र श्रीमतीसहित परिवारका १५ सदस्यलाई गुमाए। उक्त बस्तीका १०० भन्दा बढी अझै हराइरहेका छन्। “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो। तर यति विघ्न होला भन्ने भएन। पोहोरको जत्रै होला, बाढी आउन समय लाग्छ भन्ने सोच्दासोच्दै सास फेर्न नपाउँदै छोपिहाल्यो,” तामाङले भने।

सूचना पुग्यो, जोखिमको आकार बुझिएन

भदौ १० को बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा तीव्र गतिमा फैलिएको थियो। पूर्वसूचना तटीय क्षेत्रसम्म पुगे पनि क्षतिको अनुमान कल्पनाभन्दा धेरै ठूलो भयो।

विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार २०१८ सालमा आएको बाढीमा खासै मानवीय क्षति भएको थिएन। “हजुरबुबाले २०१८ को बाढीको कथा सुनाउनुहुन्थ्यो। अहिले त त्रिशूली नदीबाट ३०० मिटर पर र १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनाइदियो,” श्रेष्ठले भने।

टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटका नदी किनारका बस्ती बाढीले निमेषभरमै सखाप पार्यो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सफा मौसममा दिइएको चेतावनीलाई धेरैले गम्भीरतापूर्वक लिएनन्। “मौसम सफा थियो, घाम लागिरहेको थियो। त्यसैले ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन सकेनन्,” प्रजिअ रेग्मीले भने, “मानवीय क्षति कम गर्न सूचना कति छिटो पुग्यो भन्ने मात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने कुरा मुख्य हुँदो रहेछ।”

बाढीले विपद्का बेला पूर्वसूचना पाउनु जति महत्त्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तुरुन्त सुरक्षित स्थानमा जानु अझ बढी महत्त्वपूर्ण हुने पाठ सिकाएको छ।

छुटाउनुभयो कि ?