मुस्ताङ। मुस्ताङमा यस वर्ष चौथोपटक हिमपात भएको छ। अत्याधिक हिमपातका कारण प्रभावित जनजीवनमा सुधार आएको उपल्लो मुस्ताङमा तापक्रम वृद्धिसँगै किसानहरू हिमपातबाट उत्साहित भएका छन्।
जिल्लाका पाँचवटै गाउँपालिकामा सामान्य हिमपात भएपछि कृषि र पशुपालनमा सक्रिय किसानहरू खुसी भएका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरुङले भने, “चैत्र महिनामा खर्क छपक्कै छोप्ने गरी परेको हिमपातले चरन क्षेत्रमा घाँस बढाउँछ र पशुपालन सहज हुन्छ। विगतमा हिमपात नहुँदा चरन क्षेत्रमा घाँस अभावका कारण बजारबाट आयातित दाना लैजानुपथ्र्यो, अब सहज भएको छ।”
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले भने, “यसपटक हिमपातले कृषि र पशुपालनलाई वरदान सावित भएको छ। उच्च हिमाली क्षेत्रमा जमेको हिउँले चरन क्षेत्रमा याक, च्याङ्ग्रा र अन्य पशुपन्छीलाई आवश्यक तापक्रम उपलब्ध गराउँछ। यसले मुख्य बाली, स्याउ, आलु र अन्य कृषिजन्य उत्पादनमा सकारात्मक प्रभाव पार्नेछ।”
उपल्लो मुस्ताङका विभिन्न क्षेत्रहरूमा, जस्तै थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्रमा हिमपात र वर्षासँगै उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ। लो घेकर, दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा हिमपातले रोगको प्रकोप समेत न्यून गर्ने कृषि कार्यालयको भनाइ छ।
मङ्सिरदेखि ऋणात्मक तापक्रम र बाख्लो हिमपातका कारण चरनखर्कमा घाँसको अभाव देखिएको थियो। यसपटकको हिमपातले चरन क्षेत्रका याक, च्याङ्ग्रा र अन्य पशुहरूको गोठ सजिलै राख्न सकिने छ।
कृषक गुरुङले थप भने, “हिउँले चरन क्षेत्रमा पर्याप्त घाँस दिने भएकाले अब चरन व्यवस्थापनमा सहजता हुनेछ। लामो समयसम्म चरन क्षेत्र सुरक्षित भएकोले हामी खुसी छौं।”