काठमाडौं। वैदेशिक रोजगारी तथा सहरबाट गाउँ फर्किएर कृषि उद्यम सञ्चालन गर्ने युवाहरूलाई लक्षित गर्दै गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ (Return to Village) कार्यक्रमअन्तर्गत युवाहरूलाई कृषि ऋणमा ब्याज अनुदान दिन लागिएको हो।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीको पदबहालीको सय दिन पुगेको अवसरमा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सचिव डा. प्रेरणा सेढाईँ भट्टराईले उक्त कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। युवाहरूलाई गाउँमै कृषि उद्यममा प्रोत्साहित गर्ने उद्देश्यले मन्त्री कार्कीकै विशेष सोच अनुसार यो कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो।
सो अवसरमा मन्त्री कार्कीले कृषि क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न र गाउँमै स्वरोजगार तथा रोजगारीका अवसरहरू सिर्जना गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, मन्त्रालयले कृषि उत्पादन वृद्धि र उत्पादित वस्तुको बजारीकरणका लागि किसानहरूलाई निरन्तर सहयोग गर्दै आएको उहाँले बताउनुभयो।
यसैगरी, मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि उपजको सहज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’ अन्तर्गत रु एक करोड र जैविक मलमा अनुदान तथा उत्पादन प्रोत्साहनका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरेको जनाएको छ।