काठमाडौं। हालै रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको आयोजनामा सोमबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएकाे हाे।

प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका दिवंगत आत्माहरूको १३औं दिनको पुण्य तिथिको अवसर पारेर उनीहरूको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गर्न यो कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।
विपत्तिको यस कठिन घडीमा पीडित परिवारको घाउमा मलम लगाउन र ऐक्यबद्धता जनाउन सबैलाई अपिल गर्दै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले भने-
"प्राकृतिक विपत्तिका कारण हामीले हाम्रा धेरै दाजुभाइ तथा दिदीबहिनीहरूलाई गुमाउनुपरेको छ। यो सिङ्गो देशकै लागि अत्यन्तै दुःखद् र पीडादायी घडी हो। मृतकका दिवंगत आत्माको शान्ति, शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् र प्रभावित क्षेत्रका नागरिकले राहत एवं पुनर्मूल्याङ्कन पाउन सकून् भन्ने उद्देश्यले हामीले १३औँ दिनको पुण्यतिथिमा माइतीघरमा दीप प्रज्वलन कार्यक्रम राखेका हौँ। यस दुःखद् क्षणमा सबै क्षेत्रका नागरिक, व्यवसायी तथा सञ्चारकर्मी साथीहरूलाई माइतीघर पुगेर दीप प्रज्वलनमा सहभागी भई ऐक्यबद्धता जनाइदिनुहुन भएकाेमा हार्दिक धन्यवाद।"
कार्यक्रममा महासंघका पदाधिकारी, शैक्षिक परामर्श व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेकाे थियाे।