सुपर सेती जलविद्युत् आयोजनामा पहिरो जाँदा दुई कामदारको मृत्यु, एक घाइते

सुपर सेती जलविद्युत् आयोजनामा पहिरो जाँदा दुई कामदारको मृत्यु, एक घाइते

काठमाडौँ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन ‘सुपर सेती जलविद्युत् आयोजना’को पहुँचमार्ग खन्ने क्रममा माथिबाट पहिरो खस्दा दुई जना कामदारको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन्। पहिरोमा परी गम्भीर घाइते भएका उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

घटनामा इलामका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ११ बजे आयोजनाको पहुँचमार्गका लागि सडक खन्ने काम भइरहेका बेला अचानक माथिबाट पहिरो खसेको थियो। घटनालगत्तै स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले पहिरोमा पुरिएका कामदारहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत् आयोजनामा यो दुर्घटना भएको हो।

छुटाउनुभयो कि ?