जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिहरू पार्टीबाट निष्कासित

जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिहरू पार्टीबाट निष्कासित

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्ताहरूलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ।

ललितपुरको बालकुमारीमा भदौ १६, १७ र १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त कारबाहीको निर्णय गरेको हो।

पार्टीको नीति, निर्णय र निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी भएको अभियोगमा प्रदेश सभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाललाई निष्कासन गरिएको हो।

त्यसैगरी पार्टी सिद्धान्त र अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै जसपाले स्थानीय तहका जनप्रतिनिधिहरूमाथि पनि कारबाही चलाएको छ। निष्कासित हुनेहरूमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन्।

कारबाहीको सूचीमा कोशी प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनाैँ वडा अध्यक्ष तथा सदस्यहरू समेत परेका छन्।

यसैबीच, केन्द्रीय कार्यकारिणी समितिको सोही बैठकले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।

छुटाउनुभयो कि ?