न्युजरुममा प्रहरी प्रवेश गराएर पत्रकार तर्साउन खोजियो, राज्यद्वारा हुर्मत लिने प्रयास निन्दनीय: नैनसिंह महर

न्युजरुममा प्रहरी प्रवेश गराएर पत्रकार तर्साउन खोजियो, राज्यद्वारा हुर्मत लिने प्रयास निन्दनीय: नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रेसको मुख बन्द गराउने र तर्साउने नियतले यस्ता कार्य भइरहेको बताएका छन्।

नेपालप्रेस अनलाइनको कार्यालयभित्रै छिरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइएको र नयाँ पत्रिका दैनिकको कार्यालय पुगेर पत्रकार नवराज मैनालीलाई समेत पक्राउ गर्ने प्रयास गरिएको प्रसङ्ग उल्लेख गर्दै नेता महरले राज्यका तर्फबाट पत्रकारको हुर्मत लिने काम भएको टिप्पणी गरेका छन्।

अन्य धेरै पत्रकारहरूको समेत प्रहरीले खोजी गरिरहेको जानकारी आएको उल्लेख गर्दै उनले लोकतन्त्रको बर्खिलापमा हुने जुनसुकै नियोजित र स्वेच्छाचारी कार्य निन्दनीय हुने बताएका छन्।