न्युजरुममा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु निरंकुशताको पराकाष्ठा : जेनजी अभियान्ता रवि किरण हमाल

न्युजरुममा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु निरंकुशताको पराकाष्ठा : जेनजी अभियान्ता रवि किरण हमाल

काठमाडौं। जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहभित्रै प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने राज्यको कदमप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो अराजक व्यवहार तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

सत्ता आलोचनाबाट तर्सिएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रमाथिको सीधा प्रहार भएको हमालको टिप्पणी छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिचौलियाको चङ्गुलमा फसेको, लुटतन्त्र र गुण्डाराज मौलाएको अवस्थामा सत्य उजागर गर्ने पत्रकारमाथि नै धरपकड हुनु गम्भीर निरंकुशता भएको उनले बताएका छन्।

‘विनाशकाले विपरीत बुद्धि’ भन्दै हमालले भनेका छन्, ‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन।’ प्रेस स्वतन्त्रताको रक्षा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रसँग प्रत्यक्ष जोडिएकाले यस्ता गैरलोकतान्त्रिक कदमविरुद्ध मौन नबस्न उनले आम नागरिकलाई आह्वान समेत गरेका छन्।