प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, मिति तय हुन बाँकी: परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, मिति तय हुन बाँकी: परराष्ट्र मन्त्रालय

काठमाडौं।  प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक तयारी अगाडि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले दुवै पक्षलाई अनुकूल हुने गरी भ्रमणको तयारी भइरहेको भए पनि औपचारिक मिति भने तय हुन बाँकी रहेको जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाबाट अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट नेपालको स्तरोन्नति हुने समय तालिका थप तीन वर्ष पछाडि सार्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको समेत बताए। सन् २०२६ नोभेम्बरका लागि तय भएको स्तरोन्नति अब सन् २०२९ नोभेम्बरमा हुनेछ। थप प्राप्त समयले नेपालको स्तरोन्नति प्रक्रियालाई सहज र दिगो बनाउन मद्दत पुग्ने मन्त्रालयको विश्वास छ।

यस्तै, आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीमा हुने विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको उच्चस्तरीय सहभागिता रहने परराष्ट्रले जनाएको छ। सम्मेलनका क्रममा नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गर्ने गृहकार्य भइरहेको छ भने पर्वतीय मुलुकहरूसँग मिलेर जलवायु र पर्वतीय मुद्दामा विशेष कार्यक्रम आयोजना गर्ने तयारी समेत गरिएको छ।