चार महिनामा साढे चार हजार विपद्का घटना: २०५ जनाको मृत्यु, ५ बेपत्ता

चार महिनामा साढे चार हजार विपद्का घटना: २०५ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं। गत वैशाख यताको चार महिनाको अवधिमा देशभर साढे चार हजारभन्दा बढी विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि साउन २४ गतेसम्म देशभर कूल चार हजार ४५२ वटा विपद्का घटना भएका हुन्।

ती घटनाहरूमा परी २०५ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपत्ता रहेका छन्। यस्तै, एक हजार ३४७ जना घाइते भएका छन् भने कूल पाँच हजार ४९२ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

चौबीस घण्टामा ४१ विपद्, सर्पदंशका घटना धेरै

यसैबिच, साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्मको २४ घण्टामा मात्रै देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना दर्ता भएका छन्। प्राधिकरणका अनुसार ती घटनाहरूमा परी २० जना घाइते भएका छन्।

उक्त २४ घण्टाको अवधिमा सबैभन्दा बढी सर्पदंशका २० वटा घटना भएका छन्, जसबाट २० जना नै घाइते भएका हुन्। यसबाहेक आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तुको आक्रमणका एक-एक घटना घटेका छन्।

यस अवधिमा विपद्का कारण अनुमानित रु ३८ लाख ४७ हजार ५०० बराबरको भौतिक क्षति भएको छ भने चार स्थानमा सडक अवरुद्ध हुनुका साथै एउटा चौपायाको मरेको छ। प्रभावित क्षेत्रमा सहायता तथा उद्धारका लागि १७३ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

छुटाउनुभयो कि ?