काठमाडौं। भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको उपचार गरिएको छ। बाढीले ठूलो मानवीय क्षति पुर्याउनुका साथै हजारौँ नागरिकलाई विस्थापित बनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन्। यस्तै नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन्। प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै घाइतेको उपचारलाई तीव्रता दिइएको छ।
प्राधिकरणका अनुसार बाढीपछि ५ हजार ८३ जना नागरिक अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ, जसमध्ये ३ हजारभन्दा बढी विस्थापितहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले उद्धार गरिएकाहरूलाई खानपान, स्वास्थ्य र आधारभूत सेवा उपलब्ध गराउँदै बेपत्ताको खोजी कार्य निरन्तर जारी राखिएको जानकारी दिनुभयो।
यसैबीच, बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी (सुस्ता पूर्व र पश्चिम) तथा सीमापारि भारतमा गरी कुल १ हजार २९० जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला, ४२७ पुरुष र ५३२ वटा आंशिक अङ्ग रहेका छन्। उपचारका क्रममा अस्पतालमा दुई जनाको मृत्यु भएको छ।
अहिले बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उपचार र विस्थापितको पुनर्स्थापनालाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ।