घारखोला जलविद्युत् आयोजनामा सुक्खा पहिरो: सुरक्षागार्डको मृत्यु, विद्युत् उत्पादन ठप्प

घारखोला जलविद्युत् आयोजनामा सुक्खा पहिरो: सुरक्षागार्डको मृत्यु, विद्युत् उत्पादन ठप्प

पोखरेबगर (म्याग्दी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा सुक्खा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर आयोजनाका सुरक्षागार्ड ५५ वर्षीय दीपक बरुवाल (खेमराज) को कार्यस्थलमै मृत्यु भएको हो।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बिहान ३:३५ बजे विद्युत्गृह माथिबाट खसेको ढुङ्गामाटोसहितको पहिरोमा पुरिएका बरुवालको शव निकालिएको छ। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डोजर प्रयोग गरी करिब एक घण्टाको प्रयासमा शव बाहिर निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाएको छ। मृतकका परिवार र आयोजनाबिच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भइसकेको छ।

झ्यालबाट हाम फालेर बचे प्राविधिक

पहिरो खस्दा विद्युत्गृहमा कार्यरत इलेक्ट्रिकल ओभरसियर ३१ वर्षीय सुरेन्द्र विक झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। भाग्ने क्रममा घाइते भएका विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।

अर्का इलेक्ट्रिकल ओभरसियर २४ वर्षीय छविलाल अर्याल भने पहिरोका कारण विद्युत्गृहभित्रै थुनिएका थिए। पछि घाइते विकले खबर गरेपछि पुगेका सुरक्षाकर्मी र साथीहरूले डोरीको सहायताले अर्यालको सकुशल उद्धार गरेका थिए।

आयोजना बन्द, पोखरेबगर शोकमा

१४ मेगावाट क्षमताको यस घारखोला जलविद्युत् आयोजनाका उपकरणहरूमा पहिरोले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। वि.सं. २०८० असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको र सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको आयोजनाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति व्यहोर्नुपरेको छ। प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ।

गाउँकै सहयोगी व्यक्ति दीपक बरुवालको अकस्मात् निधन भएपछि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर शोकमा डुबेको छ। वडाध्यक्ष रामबहादुर खड्का र जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँमा सुक्खा पहिरो खस्दा ठूलो जनधनको क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?