उत्तरी गोरखाको चुमनुब्बी ६ मा पहिरो थुनिएर बाढी: उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिँदै

उत्तरी गोरखाको चुमनुब्बी ६ मा पहिरो थुनिएर बाढी: उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिँदै

गोरखा । उत्तरी गोरखाको चुमनुब्बी गाउँपालिका–६ स्थित चुम्के खोलामा पहिरो खसेर नदी थुनिएपछि आएको आकस्मिक बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रका अनुसार आज बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर प्राप्त भएको थियो। बाढीका कारण हालसम्म कुनै मानवीय क्षति भएको जानकारी नआएको उनले बताए।

चुमनुब्बी गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार चुम्केको खोलामा ठूलो पहिरो खसेर केही समय नदी थुनिएपछि एक्कासि फुटेर बाढी आएको हो। आकस्मिक रूपमा आएको बाढीले नदी किनारका बस्तीहरू प्रभावित बनेका छन्।

बाढीका कारण तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार उच्च जोखिममा परेका छन्। बाढीको जोखिम बढेपछि त्यस क्षेत्रका कतिपय स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा विस्थापित भएका छन्।

घटनास्थलको वस्तुस्थिति बुझ्न, उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन्।

यसैबीच, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी र चुम्के खोला तटीय क्षेत्रमा आकस्मिक बाढी आएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै मोबाइलमा भेलबाढीसम्बन्धी आकस्मिक सन्देश (एसएमएस) पठाएको छ। महाशाखाले नदी किनार आसपास नजान र सतर्क रहन तटीय क्षेत्रका स्थानीयलाई अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?