भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो

भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो

म्याग्दी। दशैंका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्।

प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो समय लगाएर बजारसम्म आइपुगेका उनीहरूलाई अब भेडाच्याङ्ग्रा समयमै बिक्री गर्न पाइने हो कि होइन भन्ने चिन्ताले सताएको छ।

मुगुको छायानाथ रारा नगरपालिका-६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा लिएर आएको हो। तीमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन्। दशैंमा पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए।

‘यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो’, बिकले भने, ‘डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकिनुपर्‍यो । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ।’

टोलीले शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने योजना बनाएको छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग कस्तो हुन्छ र ल्याएका सबै भेडाच्याङ्ग्रा बिक्री गर्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता उनीहरूलाई छ। ‘ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ’, बिकले भने।

डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्। उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरा गएका हुन्। घरबाट हिँडेको २२ दिन भइसके पनि उनीहरूको यात्रा अझै सकिएको छैन।

भेडाच्याङ्ग्रापालनलाई मुख्य पेसा बनाएका उनीहरू हरेक वर्ष दशैंको बजारलाई लक्षित गरी विभिन्न सहरमा पशु बिक्री गर्न पुग्छन्। वर्षभरि पालनपोषण गरेर हुर्काएका भेडाच्याङ्ग्राबाट राम्रो आम्दानी गर्ने उनीहरूको अपेक्षा हुन्छ। तर, यस वर्ष बाढीपहिरो र प्रतिकूल मौसमले यात्रामा थप सास्ती दिएको छ।

डोल्पाको काइके गाउँपालिका-२ सहरताराका सञ्जय बुढा पनि २५ दिनसम्म पैदल यात्रा गरेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन्। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म ल्याउनु सहज काम होइन। भिरपाखा, खोल्सा र साँघुरा बाटो पार गर्दै पशुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन किसानले लामो समय र मेहनत खर्चिनुपर्छ।

‘भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्‍याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो’, बुढाले भने।

सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

दशैं नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। तर, यस वर्षको प्रतिकूल मौसम र सडक अवरोधले किसान तथा व्यापारी दुवैलाई प्रभावित बनाएको छ। डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल देखिन्छ। उनीहरू पशु बिक्रीका लागि पोखरा, काठमाडौँलगायत सहरतर्फ जाने तयारीमा छन्।

गत असोज ८ देखि ११ गतेसम्म भएको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनाएको थियो। सडक अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा पैदल खेदाएर ल्याउनेदेखि सवारीसाधनमा ढुवानी गर्ने कामसमेत प्रभावित भयो। कतिपय किसानले लामो दूरी पैदल हिँड्नुपर्‍यो भने कतिपयले बाटो खुल्ने प्रतीक्षामा दिन बिताउनुपर्‍यो। यसले बजारसम्म पुग्ने समय लम्बिनुका साथै खर्चसमेत बढाएको छ।

मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत सहरमा पठाउन थालिएको छ। यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिएका कारण त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए।

तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्ति गर्ने प्रमुख मार्ग मुस्ताङ बनेको छ। मुस्ताङ हुँदै ल्याइएका भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा र काठमाडौँ पठाउने क्रम जारी छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ।

कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए । यस वर्ष मौसम र सडकको अवस्थाले आपूर्ति प्रभावित भएपछि गत वर्षको तुलनामा बजारमा कति भेडाच्याङ्ग्रा पुग्छन् भन्ने यकिन हुन सकेको छैन।

ढुवानी खर्च बढ्दा खरिदबिक्रीमा असर

लामो यात्रा र सडक अवरोधका कारण भेडाच्याङ्ग्रा बजारसम्म पुर्‍याउने लागत बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ।

बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भएको थियो । ‘किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन’, उनले भने ।

व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार एउटा भेडा ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको छ । च्याङ्ग्राको मूल्य प्रतिगोटा करिब ४० हजार रुपैयाँ छ । बेनीमा आइपुग्दा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँसम्म पुगेको छ ।

बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाका अनुसार च्याङ्ग्राको उमेर र आकारले पनि मूल्य निर्धारणमा प्रभाव पार्छ । उनका अनुसार पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन् ।

“महँगो परे पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ,” उनले भने ।

हिमाली क्षेत्रमा प्राकृतिक चरनमा हुर्किएका भेडाच्याङ्ग्राको मासुलाई दसैँको विशेष परिकारका रूपमा लिने गरिन्छ । त्यसैले मूल्य बढे पनि दसैँका बेला यसको माग हुने गरेको व्यापारी बताउँछन् । यद्यपि, यस वर्ष बजारसम्म ढिलो गरी आइपुग्नु र ढुवानी खर्च बढ्नुले किसान तथा व्यापारीको नाफामा असर पार्न सक्छ ।

मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौं हुन्। यसबाहेक म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का व्यापारी प्रेम छन्त्यालले बताए ।

च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन त्यहाँका धेरै किसानको मुख्य आयस्रोत हो । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्।

उपल्लो मुस्ताङका किसानले च्याङ्ग्रापालनबाट मासु बिक्री गर्नुका साथै त्यसको शरीरबाट निस्कने भुवा पनि उपयोग गर्दै आएका छन् । च्याङ्ग्राको भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

तर, च्याङ्ग्रापालन व्यवसाय चुनौतीमुक्त छैन। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र पशुलाई आहारको अभाव हुने समस्या छ। अर्कोतर्फ, हिउँदमा अत्यधिक हिमपात हुँदा चरन क्षेत्र हिउँले ढाकिने र आहार नपाएर भेडाबाख्रा मर्ने जोखिम पनि रहन्छ।

यस्ता चुनौतीका बाबजुद हिमाली किसानले वर्षभरि च्याङ्ग्रा पालेर दशैंको बजारलाई मुख्य आम्दानीको अवसरका रूपमा लिने गरेका छन्। दशैंमा बिक्री गर्न सकिएमा वर्षभरिको मेहनतको प्रतिफल प्राप्त हुने उनीहरूको अपेक्षा हुन्छ । त्यसैले मौसम अनुकूल हुने र सडक सहज रहने समयको प्रतीक्षा गर्दै उनीहरू पशु लिएर बजारतर्फ लाग्छन् ।

यस वर्ष भने लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ। बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ भने ढुवानी तथा बाटोमा हुने खर्चले आम्दानी घटाउने चिन्ता पनि थपिएको छ।

दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर आएका किसानका लागि अबको मुख्य चुनौती बजारसम्म पुग्नु मात्र होइन, ल्याएका पशु समयमै बिक्री गर्नु पनि हो । महिनौँको मेहनत र कष्टकर यात्रापछि बजार आइपुगेका किसानले उचित मूल्यमा भेडाच्याङ्ग्रा बिक्री गर्न पाए मात्र उनीहरूको अपेक्षा पूरा हुनेछ।

छुटाउनुभयो कि ?