बागलुङ। असोज ९, १० र ११ गते आएको अविरल बाढी, पहिरो र हुरीबतासका कारण बागलुङको गलकोट नगरपालिका क्षेत्रमा ठुलो भौतिक क्षति पुगेको छ।
गलकोट नगरपालिकाका अनुसार बाढी, पहिरो र हुरीका कारण एउटा वडा कार्यालय भवनसहित ६३ वटा घरमा क्षति पुगेको छ भने अन्य १३३ वटा घरमा आंशिक नोक्सानी भएको छ। जसमध्ये हुरीबतासले मात्रै ३९ वटा घरमा पूर्ण र ५२ वटा घरमा आंशिक क्षति पुर्याएको नगरप्रमुखको कार्यालयले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण स्थानीय पूर्वाधार र कृषि क्षेत्रमा पनि ठुलो असर परेको छ। नगर क्षेत्रभित्र रहेका पक्की सिँचाइका २१ वटा संरचनामा गम्भीर क्षति पुगेको छ भने २४ वटा पक्की सिँचाइ संरचनामा सामान्य क्षति भएको छ। यसैगरी, किसानहरूले प्रयोग गर्दै आएका २०३ वटा कच्ची सिँचाइका संरचनाहरू पूर्ण रूपमा ध्वस्त तथा क्षतिग्रस्त भएका छन्।