मानव इतिहासमै पहिलो पटक ८ हजार मिटर अग्लो हिमाल चढिएको दिन: ७६औँ अन्नपूर्ण आरोहण दिवस आज मनाइँदै

मानव इतिहासमै पहिलो पटक ८ हजार मिटर अग्लो हिमाल चढिएको दिन: ७६औँ अन्नपूर्ण आरोहण दिवस आज मनाइँदै

म्याग्दी। मानव इतिहासमा आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल पाइला टेकिएको ऐतिहासिक दिनको सम्झनामा आज ७६औँ अन्नपूर्ण आरोहण दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको आज ७६ वर्ष पूरा भएको हो। सन् १९५० को जुन ३ तारिखका दिन फ्रान्सका आरोही मौरिज हर्जोग र लुई लचेनलको टोलीले पहिलो पटक यो हिमालको सफल आरोहण गरेर विश्वमै पर्वतारोहणको इतिहास रचेका थिए।

यसरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमालसमेत भनिन्छ, जसको सफल आरोहण भएको तीन वर्षपछि मात्र विश्वको सर्वोच्च शिखर सगरमाथामा मानिसले पाइला टेक्न सकेका थिए।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा यो दिवसलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिएका छन्।

यसै अवसरलाई उत्सवमय बनाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरमा दौड प्रतियोगिता आयोजना गरिएको छ भने नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा समेत अन्नपूर्ण आरोहण दिवस केन्द्रित विशेष कार्यक्रमहरू भइरहेका छन्। पर्यटन विभागको तथ्यांकअनुसार अघिल्लो वर्षसम्म कुल पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।

यस वर्षको वसन्तयाममा मात्रै अन्नपूर्ण चढ्नका लागि चारवटा समूहका २७ जनाले अनुमति लिएको र उनीहरूमध्ये कतिले सफल आरोहण गरे भन्ने आधिकारिक विवरण अद्यावधिक गर्ने कार्य भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताएका छन्।

अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्ने भएकाले यहाँ स्थानीय स्तरमा विशेष खेलकुद तथा सांस्कृतिक कार्यक्रम भइरहेका छन्। नारच्याङमा सोमबारदेखि नै सुरु भएको यो दिवसको समापन आज आधार शिविरदेखि नारच्याङसम्मको ३६ किलोमिटर दूरीमा आयोजना गरिएको खुला दौड प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण समारोहका साथ गरिने वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिएका छन्।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालित २० जना धावक सहभागी यस खुला दौड प्रतियोगिताका विजेताले एक लाख, उपविजेताले ६० हजार, तेस्रो हुनेले ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन जनाले जनही १०-१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। पर्वतीय पर्यटनको जेठो खम्बाका रूपमा रहेको अन्नपूर्ण क्षेत्रको प्रवर्द्धनका लागि यस्ता प्रतियोगिता र उत्सवहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

छुटाउनुभयो कि ?