सिरहा। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले सिरहामा गोली हानेर एक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
भारतमा बसेर नेपालमा खैरो हेरोइन ओसारपसार गर्ने ठूलो गिरोहको खोजी गर्ने क्रममा भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलाम (कमाल) लाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँको टोली, ब्यूरोको सिरहा शाखा र स्थानीय प्रहरीको संयुक्त सहयोगमा उनलाई आज सिरहाबाट पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ गर्न खोज्दा कमालको समूहले प्रहरीमाथि हतियार तेर्साएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनुपरेको थियो।
पक्राउ पर्न लागेको थाहा पाएपछि सुरुमा उक्त गिरोहले बोकेको कटुवा पेस्तोलबाट प्रहरी टोलीमाथि एक राउन्ड फायर गरेको थियो। त्यसपछि प्रहरी टोलीले आत्मरक्षाका लागि दुई राउन्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतावनी दिएको थियो। तर, प्रहरीको चेतावनीलाई अटेर गरी कमालले कटुवा पेस्तोल तािकरहेपछि प्रहरीले उनको बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड गोली हानेर नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका कमालले भारतको लालबनियाँ नाका प्रयोग गरी नेपालको सिरहा र महोत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म लागुऔषध खैरो हेरोइन ओसारपसार गर्ने गिरोह चलाउँदै आएको खुलेको छ।
प्रहरीले उनको साथबाट ११५ ग्राम २० मिलिग्राम खैरो हेरोइन र अपराधमा प्रयोग गरिएको एक थान कटुवा पेस्तोल समेत बरामद गरेको छ। गोली लागेर घाइते भएका कमालको अहिले प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ। लागुऔषध ओसारपसारको यस गिरोहमा संलग्न अन्य तीन जना भने घटनास्थलबाटै फरार भएकाले उनीहरूको सघन खोजी र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन्।