सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्वपछि सामाजिक सद्भाव र्‍याली

सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्वपछि सामाजिक सद्भाव र्‍याली

सिरहा। सिरहाको गोलबजारमा हिंसात्मक झडप भएको १२ दिनपछि मङ्गलबार सामाजिक सद्भाव र एकताको सन्देश दिँदै र्‍याली निकालिएको छ।

स्थानीयस्तरमा उत्पन्न तनाव, हिंसा र अशान्तिको वातावरणलाई शान्त पार्न विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी तथा स्थानीय बासिन्दाको संयुक्त सहभागितामा र्‍याली आयोजना गरिएको हो। र्‍यालीमा सहभागीहरूले आपसी भाइचारा, शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जोड दिएका छन्।

कार्यक्रममार्फत गोलबजारमा दिगो शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने सन्देश दिइएको छ। साथै, कुनै पनि घटनालाई बहाना बनाएर समुदायबीच वैमनस्य फैलाउने र सद्भाव बिगार्ने गतिविधि नगर्नसमेत सहभागीहरूले आग्रह गरेका छन्।

१२ दिनअघिको हिंसात्मक घटनाका कारण गोलबजारको जनजीवन प्रभावित र आतङ्कित बनेको अवस्थामा यो र्‍यालीले शान्ति तथा एकताको वातावरण निर्माण गर्न सकारात्मक भूमिका खेल्ने स्थानीय बासिन्दाको विश्वास छ।

छुटाउनुभयो कि ?