सप्तरी। देशका विभिन्न भागमा परेको लगातारको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। तराई र पहाडी क्षेत्रमा परेको झरीका कारण बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ।
सप्तरी जिल्लामा अविरल वर्षा र खोलामा आएको बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा ५०० भन्दा बढी घरहरू डुबानमा परेका छन्। यसबाट दुई हजारभन्दा बढी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
प्राप्त विवरण अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ का बस्तीहरूमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ मा १७ वटा घर डुबानमा पर्दा करिब दुई हजार नागरिक प्रभावित हुन पुगेका हुन्।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको बहाव र सतह एक्कासि बढेपछि बस्तीहरूमा बाढी प्रवेश गरेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए।
उनका अनुसार बाढीबाट विस्थापित र प्रभावित भएका नागरिकहरूका लागि नगरपालिकामार्फत तत्कालका लागि बिहान र बेलुका दुई छाक पकाएको खानाको प्रबन्ध गरिएको छ। बाढीको सतह केही घटिसकेपछि वास्तविक पीडितहरूको पहिचान गरी थप राहत सामग्री वितरण गरिने प्रमुख माझीले बताए।