काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
पछिल्ला दिनहरूमा राज्यका विभिन्न निकाय तथा सञ्चारमाध्यममाथि सूक्ष्म निगरानी र दबाब बढिरहेका बेला विपक्षी दलका शीर्ष नेता र स्वतन्त्र प्रेसको मुख्य कार्यालयका गेटमै सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएपछि कांग्रेसले यसको कडा प्रतिवाद गरेको हो।
नेता आङ्देम्बेले यस घटनालाई सरकारको आलोचना सहन नसक्ने अधिनायकवादी प्रवृत्तिसँग जोड्दै लोकतन्त्रमा आलोचना र फरक मत सहन सक्ने क्षमता नै सरकारको सबैभन्दा ठूलो शक्ति हुने स्मरण गराएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकार जब आलोचना र प्रश्नहरूबाट डराउन थाल्छ, तब उसले प्रश्न गर्नेहरूलाई नै विभिन्न बहानामा निशाना बनाउन खोज्ने टिप्पणी गरे।
नेता आङ्देम्बेका अनुसार प्रमुख सञ्चारगृह र विपक्षी नेताको मुख्य गेट अगाडि नियोजित रूपमा गाडी पार्क गर्ने कार्यको मुख्य उद्देश्य स्वतन्त्र प्रेस र प्रतिपक्षलाई मनोवैज्ञानिक दबाबमा पार्नु हो। यो घटना बाटो छेक्ने सामान्य विषय मात्र नभई सरकारका कमजोरीमाथि उठ्ने आलोचनात्मक आवाजलाई बलपूर्वक थुन्ने निकृष्ट प्रयास भएको उनको दाबी छ।
विपक्षी नेतृत्व र सञ्चार जगतलाई डर देखाउने तथा सरकारमाथि प्रश्न गरे परिणाम भोग्नुपर्छ भन्ने धम्कीपूर्ण सन्देश दिने गरी राज्य संयन्त्रकै आडमा यस्ता गतिविधि भइरहेको आरोप उनले लगाए। सञ्चारमाध्यम र प्रतिपक्ष कहिल्यै पनि सरकारका शत्रु हुन नसक्ने उल्लेख गर्दै आङ्देम्बेले उनीहरू त केवल जनताका आँखाअघि राज्यका कामकारबाहीलाई जस्ताको तस्तै देखाउने ऐना मात्र भएको बताए। उनले ऐना फुटाएर आफ्नो अनुहार सुन्दर देखिन नसक्ने भन्दै सरकारलाई सचेत समेत गराएका छन्।
मुलुकमा पछिल्लो समय गम्भीर बन्दै गएका जनसरोकारका मुद्दाहरू लुकाउन सरकारले यस्ता हर्कत गरेको कांग्रेसको बुझाइ छ। देशभरका लाखौँ सहकारीपीडित र मिटरब्याजपीडितको आन्दोलन, सुकुम्वासी समस्या, राज्यको दुर्व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना तथा बेरोजगारीको चरम पीडा सहन नसकी सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेको गम्भीर विषयमा सरकार चौतर्फी घेराबन्दीमा परेको छ।
यस्ता संवेदनशील र आम नागरिकसँग जोडिएका जल्दाबल्दा विषयमा सरकारलाई निरन्तर प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी नेताको गेट छेक्दैमा जनताको आक्रोश र आवाजलाई रोक्न नसकिने आङ्देम्बेले स्पष्ट पारेका छन्।
गाडीले भौतिक रूपमा घर वा कार्यालयको गेट त छेकिएला, तर जनताको आवाज र चेतनालाई कहिल्यै छेक्न नसकिने भन्दै उनले इतिहास साक्षी रहेको र जस्तोसुकै अवरोध खडा गरिए पनि सत्तासँग प्रश्न सोध्ने बाटो कहिल्यै बन्द नहुने चेतावनी दिएका छन्।