काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानीको जिम्मेवारी स्पिनर सन्दीप लामिछानेलाई सुम्पिएको छ।
यसअघि ओडिआई र टी–२० दुवै संरचनाको कप्तानी सम्हाल्दै आएका रोहित पौडेललाई हटाउँदै क्यानले सन्दीपलाई नयाँ कमान्डर चयन गरेको हो। यससँगै सन्दीप करिब चार वर्षपछि राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्। सन् २०२२ मा कप्तानी सम्हालिरहेका बेला फौजदारी अभियोग लागेपछि क्यानले उनलाई पदबाट निलम्बन गरेको थियो।
आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको निराशाजनक प्रदर्शनपछि क्यानले टोलीको नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको हो। यो निर्णयसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवै टोलीको नेतृत्व गुमाएका छन्। क्यानले यसअघि नै टी–२० टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिसकेको छ।
नवनियुक्त कप्तान सन्दीपको नेतृत्वमा नेपाली टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ।
नेपाल क्रिकेट संघले घोषणा गरेको मलेसिया भ्रमणका लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।