अमेरिकालाई इरानको कडा चेतावनी: सबै सर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखुल्ने

अमेरिकालाई इरानको कडा चेतावनी: सबै सर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखुल्ने

तेहरान। इरानको सैन्य बल रिभोलुसनरी गार्ड्सले संयुक्त राज्य अमेरिकाले युद्धमा भएको क्षतिको क्षतिपूर्तिसहित तेहरानले अघि सारेका सबै सर्तहरू पूरा नगरेसम्म विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण हर्मुज जलमार्ग नखुल्ने चेतावनी दिएको छ।

"इरानको रणनीति शत्रुले हाम्रा सबै सर्त स्वीकार नगरेसम्म हर्मुज जलमार्ग बन्द राख्ने हो। अहिले यो जलमार्ग हाम्रा लागि केवल जलमार्ग मात्र होइन, वास्तवमा युद्धको मैदान बनेको छ," रिभोलुसनरी गार्ड्सले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर आक्रमण गरेपछि इरानले यो रणनीतिक जलमार्गमा प्रभावकारी नाकाबन्दी लगाएको छ। इरानले जलमार्गबाट हुने यातायातका लागि कर उठाउन चाहन्छ र आफ्नो स्वीकृतिविना अघि बढ्ने तथा मार्ग छल्ने प्रयास गर्ने जहाजरूमाथि निरन्तर आक्रमण गरिरहेको छ। युद्धअघि स्वतन्त्र रूपमा आवागमन हुने यस जलमार्गमा भइरहेका आक्रमणकै कारण अप्रिलमा भएको युद्धविराम सम्झौता भङ्ग भएको थियो। हाल मध्यस्थकर्ताहरूले शान्ति वार्ताको बाटो खोलेको जुन महिनाको समझदारी पत्रका सर्तहरूमा फर्कन दुवै पक्षलाई आग्रह गरिरहेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग यातायात र जलमार्गको व्यवस्थापनबारे छलफल अन्तिम चरणमा पुगेको जानकारी दिँदै हर्मुज पुनः खोल्ने विषय अन्य सर्तहरू र सम्झौता उल्लङ्घन बापतको क्षतिपूर्तिमा निर्भर रहने स्पष्ट पारेका छन्। उनले इरान र अमेरिकाबीच सीधा वार्ता भइरहेको दाबीलाई खण्डन गर्दै मध्यस्थकर्ताहरूमार्फत केवल सन्देश आदानप्रदान मात्र भइरहेको बताएका छन्।

यसअघि शनिबार इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले जलमार्ग पुनः खोल्नका लागि मागहरूको सूची प्रस्तुत गरेका थिए। तस्निम न्युज एजेन्सीका अनुसार ती मागहरूमा इरानसहित उसका सहयोगी राष्ट्रहरू लेबनान, प्यालेस्टाइन, यमन र इराकविरुद्धको युद्ध र आक्रमण अन्त्य हुनुपर्ने विषय प्रमुख छन्। त्यसैगरी अमेरिकी प्रतिनाकाबन्दी र प्रतिबन्धहरू हटाउने, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गर्ने तथा युद्धकालीन क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्तहरू पनि अघि सारिएका छन्।

जलमार्गमा आक्रमण जारी

हर्मुज जलमार्गमा व्यापारीक जहाजहरूको आवागमन उल्लेख्य रूपमा घटेको छ। इरानी जलक्षेत्रबाट छिर्न खोज्ने जहाजहरूलाई निशाना बनाउने क्रम रोकिएको छैन।

शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयले अबु धाबी राष्ट्रिय तेल कम्पनी (एडनोक) सँग सम्बन्धित एक ट्याङ्करमाथि हर्मुज जलसन्धिमा मिसाइल प्रहार भएको भन्दै इरानी आक्रमणको कडा निन्दा गरेको छ। उक्त घटनामा कुनै मानवीय क्षति भने भएन।

यस्तै, बेलायतको मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) ले पनि ओमन नजिकै हर्मुज जलमार्गमा अर्को एक जहाजमा प्रक्षेपास्त्र लागेर आगो लागेको तर आगो तुरुन्तै निभाइएकाले कुनै हताहती नभएको जनाएको छ। यद्यपि दुवै निकायले उल्लेख गरेका घटना एउटै जहाजका हुन् वा अलग-अलग भन्ने विषय भने स्पष्ट भइसकेको छैन।

छुटाउनुभयो कि ?