६ महिनापछि स्वदेश फर्कँदै देउवा: विमानस्थलमा बाजागाजासहित स्वागत गरिने, इतर समूहको भेलामा सहभागी हुने

६ महिनापछि स्वदेश फर्कँदै देउवा: विमानस्थलमा बाजागाजासहित स्वागत गरिने, इतर समूहको भेलामा सहभागी हुने

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६ महिनाको विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन्।

स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवा बिहीबार दिउँसो १२:३० बजे थाई एयरको उडानमार्फत काठमाडौं ओर्लिने कार्यक्रम छ। गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा त्यसपछि चैत ७ गते हङकङ पुगेर त्यहीँ रहँदै आएका थिए। उनी 'जेन-जी' आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका थिए।

पूर्वसभापति देउवाको आगमनलाई लक्षित गरी नेपाली कांग्रेसको संस्थापन इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागतको तयारी गरेको छ। इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाअन्तर्गत गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतका लागि सांस्कृतिक झाँकी र बाजागाजाको व्यवस्था मिलाइएको छ।

स्वदेश फर्किएलगत्तै देउवा शुक्रबारदेखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने संस्थापन इतर समूहको तीन दिने राष्ट्रिय भेलामा सहभागी हुनेछन्।

इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार शुक्रबार दिउँसो १ बजे भेलाको औपचारिक उद्घाटन हुनेछ। तीन दिनसम्म चल्ने उक्त भेलामा देशभरका करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।

देउवाको स्वदेश फिर्ती र इतर समूहको यो राष्ट्रिय भेलालाई नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिँदै गएको आन्तरिक विवाद, भावी नेतृत्व र पार्टी पुनर्गठनको बहसका हिसाबले निकै महत्त्वपूर्ण चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?