आन्तरिक उडानको भाडा वृद्धि: कुन रुटमा कति बढ्यो? (सूचीसहित)

आन्तरिक उडानको भाडा वृद्धि: कुन रुटमा कति बढ्यो? (सूचीसहित)

काठमाडौँ ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि नयाँ फ्यूल सरचार्ज समायोजन गरेको छ। आयल निगमले श्रावण १७ गते हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ (र हाल २९० रुपैयाँ) पुर्‍याउने निर्णय गरेको थियो। सोही मूल्य वृद्धिलाई समायोजन गर्न प्राधिकरणको साउन १९ गतेको निर्णय अनुसार हवाई सेवा कम्पनीहरूलाई बढेको भाडादर कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

प्राधिकरणको हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतद्वारा हस्ताक्षरित परिपत्र अनुसार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरसहितका सबै आन्तरिक वायुसेवा सञ्चालकहरूले यो नयाँ भाडादर लागू गरेका छन्।

सबैभन्दा बढी विराटनगर–धनगढी रुटमा भाडा वृद्धि

नयाँ समायोजन अनुसार सबैभन्दा बढी प्रभाव विराटनगर–धनगढी रुटमा परेको छ, जहाँ टिकटको मूल्य १ हजार २९० रुपैयाँले बढेको छ। त्यसैगरी नेपालगञ्ज–भद्रपुर रुटमा १ हजार १७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा १ हजार १०० रुपैयाँले भाडा बढेको छ।

पोखराबाट हुने अन्तरप्रादेशिक उडानहरूमा पनि भाडा वृद्धि भएको छ। पोखरा–भद्रपुर रुटमा ८१० रुपैयाँ, पोखरा–धनगढी रुटमा ६८५ रुपैयाँ र पोखरा–जनकपुर रुटमा ५२५ रुपैयाँले भाडा बढेको छ।

काठमाडौँबाट हुने उडानमा परेको असर

काठमाडौँबाट विभिन्न गन्तव्यका लागि उड्ने यात्रुले पनि थप आर्थिक भार बेहोर्नुपर्ने भएको छ। काठमाडौँबाट सञ्चालन हुने प्रमुख रुटहरूमा बढेको भाडादर यस प्रकार छ:

  • काठमाडौँ – धनगढी: रु. ८८०

  • काठमाडौँ – माउन्टेन फ्लाइट: रु. ६८५

  • काठमाडौँ – नेपालगञ्ज: रु. ६५५

  • काठमाडौँ – भद्रपुर: रु. ६०५

  • काठमाडौँ – विराटनगर: रु. ४८०

  • काठमाडौँ – भैरहवा: रु. ४१०

  • काठमाडौँ – पोखरा: रु. ३१५

  • काठमाडौँ – जनकपुर: रु. २६०

  • काठमाडौँ – सिमरा: रु. १८०

प्राधिकरणका अनुसार समायोजन गरिएको यो नयाँ भाडादर आजैका मितिदेखि देशभरका आन्तरिक उडानहरूमा लागू भइसकेको छ।

छुटाउनुभयो कि ?