काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र विस्तार गर्दै फराकिलो आर्थिक वृद्धि हासिल गर्न सरकार र वाणिज्य बैङ्कहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नयाँ बजेटको प्रभावकारी कार्यान्वयन र वित्तीय बजारको समग्र अवस्थाबारे छलफल गर्न अर्थ मन्त्रालयले मंगलबार आयोजना गरेको वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँगको अन्तरक्रियामा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्।
उनले बैङ्किङ क्षेत्रले भोगिरहेका समस्या सुन्न, तिनको समाधानका लागि सरकारी तहबाट पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न हातेमालो गर्ने उद्देश्यले मन्त्रालयले सो छलफल आयोजना गरेको स्पष्ट पारे। बैङ्क तथा बैङ्करहरूलाई आफ्ना समस्या निर्धक्क भएर राख्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक ती कठिनाइको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको र यसका लागि लगानी वृद्धि तथा व्यापक रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए।
उनले बैङ्कहरूलाई कर्जा विस्तारमा देखिएका नीतिगत र व्यावहारिक कठिनाइहरूलाई एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न अनुरोध गर्दै सरकारले कहाँ-कहाँ कस्तो सहजीकरण गर्नुपर्ने हो सोबारे प्रस्ट पार्न आग्रह गरे। बैङ्कहरूले पछिल्लो समय सोचेअनुसार कर्जा विस्तार गर्न नसक्नुको पछाडि कस्ता कारण छन् भन्दै उनले बैङ्करहरूसँग जिज्ञासा समेत राखेका थिए।
सो छलफलमा सहभागी वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूले बजारमा लगानीको वातावरण नै छैन भन्ने बाहिरी हल्लामा कुनै सत्यता नरहेको दाबी गरे। उनीहरूले बैङ्किङ क्षेत्रलाई अहिले केही पुराना नियामक प्रावधानहरूले स्वाभाविक रूपमा केही अप्ठ्यारो परिस्थितिमा पुर्याएको भए पनि ती समस्या समाधान गर्न सकिने खालकै रहेको बताए।
हाल जलविद्युत् क्षेत्रमा लगानीका लागि बैङ्कहरूबिच ठूलो प्रतिस्पर्धा चलिरहेको जानकारी दिँदै बैङ्करहरूले अन्य क्षेत्रमा पनि बिस्तारै कर्जाको माग बढ्ने सङ्केत देखिएको उल्लेख गरे। सरकार र नेपाल राष्ट्र बैङ्कले तत्काल गर्नुपर्ने केही नीतिगत सहजीकरणका कामहरू समयमै भएमा त्यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उनीहरूको भनाइ थियो।
नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढेको लगानीको आकर्षणलाई थप सहजीकरण गर्नुपर्नेमा जोड दिँदै साना-ठूला सबै व्यवसायीलाई विश्वासमा लिएर ठूला पूर्वाधार आयोजनाहरू समयमै सक्ने गरी काम गर्न सरकारलाई सुझाव दिए।
यस्तै सिटिजन्स इन्टरनेसनल बैङ्कका सिइओ गणेश पोखरेलले बैङ्किङ क्षेत्रको वर्तमान सुस्ततालाई नियमित आर्थिक चक्रका रूपमा बुझ्नुपर्ने बताए भने ग्लोबल आइएमई बैङ्कका सिइओ सुरेन्द्र रेग्मीले व्यवसायीको खस्किएको आत्मविश्वास बढाउन र बैङ्कहरूको ऋण दिने क्षमता वृद्धि गर्न राष्ट्र बैङ्कले नीतिगत छुट दिनुपर्ने बताए। रेग्मीले सरकारले स्थापना गर्ने भनेको गैरबैङ्किङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै सञ्चालनमा आउने विश्वाससमेत व्यक्त गरे।
त्यसैगरी एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जा प्रवाहलाई ग्रामीण तथा विपन्न वर्गसम्म पुर्याउनुपर्नेमा जोड दिँदै सरकारले पुँजीगत खर्च बढाउनुपर्ने र अर्थतन्त्र चलायमान बनाउने सरकारी निकायहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए। हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उद्योगी-व्यवसायीहरू नयाँ आर्थिक वर्षमा नयाँ क्षेत्रमा लगानी गर्न उत्सुक रहेको जानकारी गराएका थिए।