काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैका राजनीतिक घटनाक्रमले देशको नेतृत्व, सुरक्षा संयन्त्र र वामपन्थी आन्दोलनका कमजोरीहरूबारे गम्भीर समीक्षाको माग गरेको बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले २०८२ भदौ २३ र २४ गते भएका घटनाक्रमहरूलाई प्रतिक्रान्तिकारी परिघटनाको संज्ञा दिँदै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप स्पष्ट देखिएको दाबी गरे ।
सम्बोधनका क्रममा प्रचण्डले नेपालको सुरक्षा निकाय र समग्र राजनीतिक शक्तिको वर्तमान अवस्थामाथि प्रश्न उठाएका छन् । इतिहासमा सुगौली सन्धिपछि नेपाली सुरक्षा निकायको यति निरीह अवस्था कहिल्यै नदेखिएको उल्लेख गर्दै उनले विगतमा अंग्रेजविरुद्ध वीरतापूर्वक लड्ने इतिहास बोकेको देशको राष्ट्रिय सुरक्षा संरचना कसरी यस्तो स्थितिमा पुग्यो भन्नेबारे गहिरो विश्लेषण हुनुपर्नेमा जोड दिए ।
विगतमा सामन्ती निरंकुशतन्त्रविरुद्ध विभिन्न सशस्त्र संघर्ष, शान्तिपूर्ण आन्दोलन, जनयुद्ध र जनआन्दोलनमार्फत जनविद्रोहको तागत देखाएका वामपन्थी दलहरू भदौ २३ र २४ को घटनासम्म आइपुग्दा किन यति शक्तिहीन र निरीह बने भन्ने विषयको वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीहरूको सामना गर्न नसकिने उनको भनाइ थियो ।
आफ्नै आँखाअगाडि देशका महत्त्वपूर्ण धरोहर र विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा आगजनी तथा विध्वंस भएको घटनाले गम्भीर प्रश्न उब्जाएको भन्दै प्रचण्डले वामपन्थी आन्दोलनबाट कहीँ न कहीँ ठूलो त्रुटि भएको स्वीकार गरे ।
विगतमा सामान्य समीक्षा र आत्मआलोचना गर्ने गरिए पनि अहिलेको भयावह परिस्थितिलाई हेर्दा त्यतिले मात्रै नपुग्ने र सम्पूर्ण घटनाक्रमको जगैदेखि गम्भीर विश्लेषण गरिनुपर्ने धारणा उनले व्यक्त गरे ।