काठमाडौं। संसदीय समितिमा बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनका विषयमा गम्भीर छलफल भएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले स्थानीय तहका ग्यास डिलरहरूमा सिलिन्डर नहुँदा पसलहरू बन्द रहेको र सर्वसाधारण खाली सिलिन्डर बोकेर भौँतारिन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
बारम्बार एउटै समस्या दोहोरिनु आपूर्ति र व्यवस्थापनमा कमजोरी रहनु नै मुख्य कारण भएको बताउँदै उहाँले उपभोक्ताको समस्या समाधान गर्न आपूर्ति प्रणालीलाई चुस्त बनाउन आग्रह गरिन्।
यसैबीच, समितिका सभापति रहबर अन्सारीले भने भारतबाट पर्याप्त मात्रामा एलपी ग्यास आयात भइरहे पनि बजारमा पुगेपछि उपभोक्ता तथा व्यापारीहरूले सिलिन्डर होल्ड (सञ्चित) गरेर राख्दा समस्या देखिएको बताए।
एलपी ग्यासको आपूर्तिमा कमी नभए पनि सिलिन्डरको ट्र्याकिङ र व्यवस्थापन प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। समितिले १७ दिनअघि नै सबै ग्यास सिलिन्डरको म्यापिङ गर्न निर्देशन दिइसकेको भए पनि सम्बन्धित निकायले त्यसको कार्यान्वयन नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे।
आफूहरू विधायिकी भूमिकामा रहेकाले समितिले दिएका निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गराउने जिम्मेवारी सरकार र कार्यपालिकाको भएको सभापति अन्सारीले स्पष्ट पारे। साथै, उनले देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको यथार्थ विवरण र अभिलेख राज्यसँग चुस्त रूपमा हुनुपर्नेमा जोड दिए।