तेहरान। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता भइरहेको वा नभएको विषयमा परस्परविरोधी दाबीहरू सार्वजनिक भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्र (मिसाइल) प्रहारबाट आक्रमणमा परेको छ।
विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलघाँटीमा भएको यस घटनाले त्यस क्षेत्रको सुरक्षा र अमेरिका-इरानबिचको बढ्दो तनावप्रति नयाँ चिन्ता थपेको छ।
बेलायतको समुद्री सुरक्षा निकाय 'युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स' (युकेएमटीओ) का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तर-पूर्वमा रहेको कार्गो जहाजमाथि स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको थियो।
युकेएमटीओले उक्त जहाजको नाम, कुन देशको झण्डा बोकेको थियो वा त्यसमा कस्तो सामान थियो भन्ने विवरण भने खुलाएको छैन। ओमानको अल खसाब पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी नजिकै पर्दछ।
विश्वमा खपत हुने ठूलो परिमाणको कच्चा तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यो जलमार्ग रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ।
सन् २०२६ को फेब्रुअरीमा अमेरिका र इरानबिच युद्ध सुरु भएयता इरानले यो जलमार्ग हुँदै हुने जहाज आवतजावतमा निरन्तर अवरोध पुर्याउँदै आएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी कायम राखेको छ। यसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार र इन्धन आपूर्ति प्रणाली नराम्ररी प्रभावित बनेको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गरेका छन्। कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को विशेष आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको उनको भनाइ छ।
इरानले बाहिर अस्वीकार गरे पनि दुवै पक्षबिच संवाद जारी रहेको दाबी ट्रम्पले गरे। तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रस्ट पारेका छन्।
तेहरानको संवाद केवल ओमानसँग मात्र भइरहेको र त्यसको मुख्य विषय हर्मुज जलघाँटीमा सुरक्षित जलयात्राको व्यवस्था मिलाउनु रहेको बाघाईले बताए। इरानको यो भनाइपछि राष्ट्रपति ट्रम्पले इरानले एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ सार्वजनिक रूपमा अस्विकार गरेर भ्रम सिर्जना गरेको टिप्पणी गरेका छन्।