सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा प्रदर्शनकारीहरूले निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गर्दै तोडफोड तथा आगजनी जारी राखेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। झडपमा परी अन्य नौ जना सर्वसाधारण घाइते भएका छन्।
घटनापछि उत्पन्न अत्यधिक तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानैदेखि प्रभावित क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेशलाई वेवास्ता गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएर टायर बाल्ने, तोडफोड तथा आगजनीमा संलग्न भएपछि सुरक्षा अवस्था झनै बिग्रिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति समाल्न कठिन भएपछि परिस्थिति नियन्त्रणमा लिन हतियारधारी नेपाली सेनालाई मैदानमा उतारिएको हो। सेनाको गस्ती सुरु भएसँगै तनावग्रस्त क्षेत्रको स्थिति सामान्य बनाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ।