काठमाडौं। नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई उच्च प्राथमिकता दिएको महसुस भएको भन्दै सहकार्यको इच्छा व्यक्त गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, परम्परागत कलाको संरक्षण, नयाँ रोजगार सिर्जना र सीपको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारे।
यस्तै, सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा 'हस्तकला विकास बोर्ड' गठन गर्नुपर्ने महासंघको मागप्रति प्रधानमन्त्री शाहले सकारात्मक सहमति जनाएका हुन्।
महासंघले प्रत्येक वर्ष मङ्सिर २८ गते आफ्नो तर्फबाट मात्रै मनाउँदै आएको ‘हस्तकला दिवस’ लाई अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने माग राखेको छ। सो मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय दिवसका रूपमा मनाउने व्यवस्था मिलाउन तत्कालै गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिए।
यसैगरी, हस्तकला सामग्रीको निर्यातमा अहिलेसम्म कायम स्वघोषणाको परिपाटीलाई विस्थापित गरी बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने महासंघको सुझावलाई सरकारले कार्यान्वयनमा ल्याउने आश्वासन दिएको छ।
साथै, हस्तकला सामग्री निर्यात गरेबापत पाइने तर विगत तीन वर्षदेखि रोकिएको ५ प्रतिशत अनुदान रकम पुनः निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्री शाहले आश्वस्त पारेका छन्।
उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ कम्पनी रजिस्ट्रारको कार्यालय रहेकाले सो भवन हस्तकला क्षेत्रकै प्रयोगका लागि फिर्ता हुनुपर्ने महासंघको मागमा पनि प्रधानमन्त्रीले सकारात्मक पहल गर्ने बताए।
छलफलमा उपत्यकामा ‘हस्तकला ग्राम’ खडा गर्ने र सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र स्थापना गर्ने विषयमा प्रधानमन्त्रीले विशेष चासो व्यक्त गरेका छन्।
यसबाहेक निर्माण व्यवसायीहरूसँगको सहकार्यमा सार्वजनिक तथा निजी संरचनाहरूलाई कलात्मक बनाउन दुई पक्षबिच सम्झौताको वातावरण बनाइदिन गरिएको अनुरोधलाई पनि सरकारले सकारात्मक रूपमा लिएको छ।
परम्परागत सीप र कलाको जगेर्ना गर्दै हस्तकलाकर्मीहरूलाई आधिकारिक परिचयपत्र वितरण गर्नुपर्ने लगायतका मागसमेत सो अवसरमा पेस गरिएको थियो।
छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठको सहभागिता रहेको थियो।