'सरफरोश'देखि 'गजिनी'सम्म जमाएका अभिनेता प्रदीपसिंह रावतको मुम्बईमा निधन

'सरफरोश'देखि 'गजिनी'सम्म जमाएका अभिनेता प्रदीपसिंह रावतको मुम्बईमा निधन

काठमाडौं। भारतीय चलचित्र तथा टेलिभिजन जगत्‌का वरिष्ठ अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। विगत केही समयदेखि ‘ब्लड क्यान्सर’ (रक्त क्यान्सर) बाट पीडित रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

भारतमा रहेकी नेपाली अभिनेत्री विपना थापाले उनको निधनको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका रावतको स्वास्थ्य अवस्था पछिल्ला केही हप्तायता गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। प्लेटलेट्सको मात्रा ह्वात्तै घटेपछि मङ्गलबार साँझ ६:३० बजेतिर उनले अन्तिम सास फेरेको उनका व्यवस्थापकले जनाएका छन्।

रावतले नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो अभिनयको छाप छाडेका छन्। उनले निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेका चलचित्रहरू ‘ह्रस्व दीर्घ’ र ‘आ बाट आमा’ मा अभिनय गरेका थिए। अभिनेत्री विपना थापासँग उनले नेपाली चलचित्र ‘आ बाट आमा’ र त्यसको सिक्वेल ‘आ बाट आमा-२’ मा सँगै काम गरेका थिए। नेपाली चलचित्रकर्मी तथा दर्शकमाझ पनि उनी निकै लोकप्रिय थिए।

हिन्दी, तेलुगु, तमिल लगायतका विभिन्न भाषाका चलचित्रमा साढे तीन दशकभन्दा बढी समय सक्रिय रहेका रावतले भारतीय टेलिभिजनको ऐतिहासिक धारावाहिक ‘महाभारत’ (१९८८) मा अश्वत्थामाको भूमिका निर्वाह गरेर व्यापक लोकप्रियता हासिल गरेका थिए।

त्यसपछि उनले बलिउडका सुपरहिट चलचित्रहरू ‘सरफरोश’, ‘लगान’ (देवाको भूमिका), र विशेष गरी आमिर खानको ब्लकबस्टर चलचित्र ‘गजिनी’ मा मुख्य खलपात्र ‘गजिनी धर्मात्मा’ को डरलाग्दो भूमिका निभाएर विश्वभर पहिचान बनाएका थिए।

यस्तै, दक्षिण भारतीय चलचित्र उद्योग (टलिउड र कलिउड) मा पनि उनले एसएस राजामौलीको ‘साइ’ (Sye) लगायतका धेरै चर्चित चलचित्रहरूमा सशक्त अभिनय गरेका थिए।

रावतको निधनको खबर सार्वजनिक भएसँगै ‘लगान’ का सहकलाकार यशपाल शर्मासहित भारतीय तथा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्देशक र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको अन्तिम संस्कार मुम्बईमै गरिने पारिवारिक स्रोतले जनाएको छ।

छुटाउनुभयो कि ?