काठमाडौं। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज २०२६’ मा नेपालका तर्फबाट पूर्णिमा शाही ठकुरी र सुनिता आचार्यले प्रतिनिधित्व गर्ने भएका छन्।
थाइल्यान्डको बैंककमा आगामी नोभेम्बर २० देखि सञ्चालन हुने उक्त प्रतियोगितामा २१ वर्षीया पूर्णिमाले ‘मिस’ र ३३ वर्षीया सुनिताले ‘मिसेस’ विधामा प्रतिस्पर्धा गर्नेछन्। नेपालका लागि प्रतियोगिताको आधिकारिक संस्था ग्रीन आर्ट्स मिडियाले दुवै प्रतिस्पर्धीलाई ‘मिस हेरिटेज नेपाल २०२६’ र ‘मिसेस हेरिटेज नेपाल २०२६’ को ताज पहिर्याउँदै औपचारिक रूपमा प्रतिनिधि घोषणा गरेको हो।
कर्णाली प्रदेशकी स्थायी बासिन्दा तथा बीबीएस स्नातक तहमा अध्ययनरत पूर्णिमाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
प्रतियोगीहरूको मेन्टरसिप, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिको जिम्मेवारी ग्रीन आर्ट्स मिडियाकी पेजेन्ट निर्देशक तथा कोरियोग्राफर अनिला श्रेष्ठले सम्हालेकी छन्। सार्वजनिक कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान तथा ‘मिस इको इन्टरनेसनल २०२६’ की टप १० फाइनलिस्ट सेजल राजभण्डारीको उपस्थिति रहेको थियो।
ग्रीन आर्ट्स मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रवीनप्रसाद लाकौलले दुवै प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदा, सौन्दर्य र प्रतिभालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।